बुटवलको आम्दा अस्पताल स्तरोन्नती गर्ने समझदारी

1.3K

बुटवलको आम्दा अस्पताल स्तरोन्नती गर्ने समझदारी

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरोन्नति गर्न आम्दा इन्टरनेशनलसँग समझदारी भएको छ । समझदारीसँगै आम्दा अस्पताल ३ सय बेडमा स्तरोन्नती हुने भएको हो ।
अस्पताल स्तरोन्नतिका लागि आम्दा इन्टरनेशनलले आर्थिक, भौतिक र प्राविधिक सहयोग उपलब्ध गराउने सहमति भएको छ । अस्पताल सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा आम्दा अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नती गर्ने समझदारी भएको हो ।
जापानको ओकायामामा आम्दा इन्टरनेशनलका अध्यक्ष डा. शिगेरु सुगानामी, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजु, आम्दा नेपालका पूर्व अध्यक्ष डा. ऋषिकेश श्रेष्ठ र आम्दा अस्पताल बुटवलका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र बस्यालले आम्दा अस्पताललाई ३ सय बेडमा स्तरोन्नती गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
समझदारीअनुसार आम्दा इन्टरनेशनलले आम्दा अस्पतालको स्तरोन्नतीका लागि आवश्यक आर्थिक, भौतिक र प्राविधिक सहयोग गर्ने आम्दा अस्पतालका अध्यक्ष समेत रहनुभएका बुटवल उपमहाननगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनु भयो । उहाँका अनुसार तीनपक्षबीच भएको समझदारीले बुटवलको स्वास्थ्य क्षेत्रमा नयाँ फड्को मार्ने छ ।
आम्दा अस्पताललाई ३ सय बेडमा स्तरोन्नती गर्नुको साथै मेडिकल कलेजका रुपमा स्थापित गर्नका लागि आवश्यकता अनुसार प्रक्रिया अगाडि बढाउने गरी समझदारी भएको उहाँले बताउनुभयो ।
एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा) इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको निमन्त्रणामा जापानको ओकायामा सिटीमा गएको टोलीले त्यहाँका नगरहरुले सञ्चालन गरेका अस्पतालहरुको अवलोकन गर्दै आपसमा अनुभव साटासाट गरिएको थियो ।
अस्पतालको स्तरोन्नती भएपछि बुटवल क्षेत्रमा एउटा विशिष्टीकृत सेवा भएको स्तरीय अस्पताल हुने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताउनु भयो ।
गत असोजमा आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सिगेरू सुगानामीले बुटवलको आम्दा अस्पतालको भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणका क्रममा अस्पतालको स्तरोन्नती गर्ने विषयमा निर्णय भएको थियो । सोही निर्णयअनुसार आम्दा अस्पताललाई विशिष्टीकृत सेवासहितको स्तरीय अस्पताल बनाउने समझदारी गरिएको हो ।
आम्दा, बुटवल उद्योग वाणिज्य संघ र बुटवल उपमहानगरपालिकाको सहकार्यमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ७ मा ५० शैयाको सिद्धार्थ बाल तथा महिला अस्पताल स्थापना गरिएको थियो । हाल यो अस्पताल १ सय शैयामा सञ्चालनमा रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र बस्यालले बताउनु भयो ।