लुम्बिनीको एक मात्रै प्राविधिक विद्यालय मसिना बाबा नरेन्द्रपुरी मोग्लाहा मावि

1.3K

लुम्बिनीको एक मात्रै प्राविधिक विद्यालय मसिना बाबा नरेन्द्रपुरी मोग्लाहा मावि

रुपन्देहीको लुम्बिनीमा रहेको मसिना बाबा नरेन्द्रपुरी मोग्लाहा माध्यमिक विद्यालय प्रविधिमैत्री बन्दै गएको छ । लुम्बिनी सांस्कृति नगरपालिका वडा नं. ११ रहेको उक्त विद्यालयमा कम्प्युटर ईञ्जिनियरिङ पठनपाठन हुँदै आएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा कम्प्युटर ईञ्जिनियरिङ पठनपाठन हुने यो एक मात्रै विद्यालय रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्तिकेय पूरी (छोटका बाबा)ले जानकारी दिनुभयो ।
यो विद्यालयमा कक्षा ९ देखि प्राविधिक धारको कम्प्युटर इञ्जिनियरिङ पठनपाठन हुँदै आएको र प्राविधिक धारका विद्यार्थीहरूलाई प्रविधिसँग सम्बन्धित कुराहरुमा सैद्धान्तिक तथा प्रयोगात्मक शैक्षिक ज्ञान दिँदै आएको उहाँले बताउनु भयो ।
लुम्बिनी देखि करीब २ किलोमीटर उत्तर पश्चिममा रहेको उक्त विद्यालयमा साधारण तर्फ कक्षा १ देखि १२ सम्म तथा प्राविधिक तर्फ ९ देखि १२ सम्म अध्यापन गराइएको विद्यालयका प्रधानाध्यापक सफि खाँनले बताउनु भयो । १ हजार २ सय बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा २७ जना शिक्षक कर्मचारीहरु रहेका छन् । गत आर्थिक वर्षमा ‘पढ्दै कमाउँदै’ कार्यक्रममा जिल्लाबाट एकमात्र विद्यालय बन्न सफल भएको यस विद्यालयका विद्यार्थीहरुले प्राविधिक सीप सिकेर आफ्ना सीपलाई प्रयोग गर्दै आय आर्जन गर्न सुरु गरेका छन् ।

विद्यालयलाई सुन्दर, सफा तथा गुणस्तरीय शिक्षा प्रदायक बनाउन आफुले लगि परेको ब्यवास्थापन समितिका अध्यक्ष पुरिले बताउनु भयो । ‘करिव १८ महिना अघि गठन भएको विद्यालय व्यवस्थापन समितिले विद्यालयको भौतिक पूर्वाधार लगायत शिक्षक व्यवस्थापन, कक्षाकोठा व्यवस्थापन, सीसी टि.भी. क्यामेरा जडान, स्टेम ल्याब व्यवस्थापन तथा कम्प्युटर सर्भरको व्यवस्थापनमा अहम भूमिका खेल्दै आएको छ ।’ उहाँले भन्नुभयो–‘विद्यालय प्रविधिमैत्री तथा डिजिटल बनाउन विद्यालयमा विद्युतीय हाजिरीको प्रयोग, ६४ चैनलको सीसी टीभी क्यामेराद्वारा निगरानी, एक पटकमा ४८ जनाविद्यार्थीले प्रयोग गर्न मिल्ने सर्भरमा आधारित कम्प्युटर ल्याब तथा शिक्षकद्वारा कक्षाकोठामा प्रोजेक्टर आधारित बोर्डमा अध्यापन गराउने लगायतका व्यवस्थापन गरिएको छ ।’
विद्यार्थीलाई प्रयोगात्मक सीप अन्तर्गत विभिन्न सफ्टवेयर निर्माण तथा प्रयोग बारे अध्यापन गराइने हुँदा विभिन्न कक्षाका विद्यार्थीद्वारा बहुउपयोगी सफ्टवेयर समेतको निर्माण गरिएको विद्यालय अध्यक्ष पूरीले बताउनु भयो । विद्यार्थीका सीपलाई बजारोन्मुख गरी देशलाई दक्ष प्राविधिक जनशक्तिप्रदान गर्ने योजना रहेको पुरीले बताउनु भयो । साथै प्राविधिक उच्च शिक्षाको व्यवस्थापन गर्ने विषयमा पनि समिति तत्पर रहेको उहाँको भनाई छ ।