नेकपा एमाले बुटवल उपमहानगर कमिटीले सर्वसाधारणलाई लक्षित गर्दै बुटवलको ट्राफिक चोकमा बृहत आँखा शिविर कार्यक्रम गरेको छ ।
नागरिकसँग पार्टीलाई जोड्न र उनीहरुको स्वास्थ्य समस्या पार्टीको जिम्मेवारी भएको महशुस गर्दै आँखा शिविर गरिएको एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले जानकारी गराउनु भयाे ।
शिविरको उदघाटन एमाले पोलिटब्यूरो सदस्य एवं उपमहानगर कमिटी इन्चार्ज दधिराम न्यौपानेले गर्नुभएकाे थियाे । त्यस अवसरमा बोल्दै उहाँले नागरिकका हरेक सुख दु:खमा एमाले साथ रहेको भन्दै अहिलेको समय आँखा पाक्ने रोकको प्रकोप समेत बढिरहेकाले सर्वसाधारणलाई लक्षित गर्दै आँखा शिविर गरिएको बताउनु भयाे ।
शिविरमा ३८३ जना सहभागी भएकोमा २६८ जनाले आँखा जाँच गराएका थिए । शिविरमा लुम्बिनी रणअम्बिका शाह आँखा अस्पतालकी नेत्ररोग विशेषज्ञ डा. विनिता भट्टराई सहितको टोलीले सर्वसाधारणको आँखा परीक्षण गरेको थियो ।
आँखामा समस्या भएकाहरुलाई निःशुल्क औषधि समेत प्रदान गरिएको थियो । एमालेले उपमहानगरका विभिन्न टोलहरुमा पनि स्वास्थ्य शिविरहरु आयोजना गरिरहेको जनाएकाे छ ।