गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले आफूले गाउँपालिकाबाट पाउने सेवा सुविधाबाट स्तन क्यान्सर रोगबाट ग्रसित वडा नं. ७ निवासी मायाँ नेपालीलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
भरतपुरको विपि कोईराला क्यान्सर अस्पतालमा उपचाररत मदाने गाउँपालिका वडा नं. ७ की २२ वर्षीय नेपालीलाई गाउँपालिकाका अध्यक्ष कुवँर, वडा नं. ७ का वडा अध्यक्ष सन्तोष केसी र नेपाली काँग्रेस मदाने गाउँपालिकाका सचिव राजेन्द्र विष्ट बुधबार अस्पतालमा पुगेर उपचारको लागि ४० हजार रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।
क्यान्सर रोगबाट ग्रसित नेपाली तीन महिनादेखि विपि कोईराला क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ । ६ महिनाको छाराकी आमा मायाँलाई सुत्केरी भएपछि स्तन क्यान्सर देखिएको थियो । नेपाली परिवारको आर्थिक अवस्था एकदम कमजोर रहेको र उपचारमा केही भएपनि सहयोग होस् र अरुलाई पनि सहयोग गर्न सन्देश दिनको लागि गाउँपालिका अध्यक्ष आफै अस्पतालमा पुगेर आर्थिक सहयोग गरिएको वडा अध्यक्ष केसीले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष कुवँरले आफूले गाउँपालिकाबाट प्राप्त गर्ने सेवा सुविधा सिधै पार्टीको खातामा जानेगरी व्यवस्था गर्नुभएको छ । त्यसरी खातामा गएको पैसा पार्टी समितिले निर्णय गरेर खर्च गर्ने व्यवस्था अनुसार समितिको निर्णयमा स्तन क्यान्सरकी बिरामी नेपालीलाई सहयोग गरिएको अध्यक्ष कुवँरले बताउनु भयो ।
अस्पतालमा उपचाररत विरामीको स्वास्थ्यमा सुधार भएको र निको हुनेमा आफू आशावादी रहेको उहाँको भनाई छ । उहाँले मायाँको उपचारमा सहयोग प्रदान गर्नको लागि अरु सहयोगी हातहरुलाई पनि आग्रह गर्नुभयो ।