लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकालले शल्यक्रियाको लागि महिनौ कुर्नुपर्ने बाध्यताको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले शल्यक्रिया कक्षलाई थप गरी एक महिना भित्रै सेवालाई दोब्बर बृद्धि गरिने पनि उहाँले बताउनु भयो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा हालै नियुक्त हुनुभएका मेडिकल सुपरिटेण्डेन्ट ढकालले सोमबार अस्पतालमा आयोजना गरिएको पद बहाली कार्यक्रममा बोल्दै अस्पतालबाट प्रदान गरिने सेवालाई छिटोछरितो र सहज बनाउने बताउँदै त्यसमा सहयोग गर्न अस्पतालका कर्मचारीहरुलाई पनि आग्रह गर्नुभयो । उहाँले अस्पतालमा गुनासो रहित सेवाका लागि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आग्रह गर्नुभयो ।
अस्पतालमा हाल प्रसुतीर्फ दैनिक सरदर १८ वटा र अन्य मेजर माईनर समेत गरि २० वटा शल्यक्रिया हुने गरेको छ । उहाँले लुम्बिनी प्रादेशिक अस्पतालबाट प्रदान गरिने सेवालाई चुस्त र भरपर्दो बनाउने प्रतिवद्धता व्यक्त गर्दै लाभग्राहीलाई अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्न क्रमिक रुपमा सुधार गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नागरिकले निःशुल्क पाउने सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा कार्यक्रमलाई एक महिना भित्र सुधार गर्ने बताउनु भयो । उहाँले सबै नागरिकलाई स्वास्थ्य विमामा सहभागि गराएर सरल र सबैको पहुँच स्थापित गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाका रुपमा निर्माणाधिन भवनको कामलाई समयमै सम्पन्न गर्नका लागि आवश्यक समन्वय तथा सहकार्यको लागि आफू तयार रहेको भनाई राख्नुभयो । त्यस्तै अस्पतालबाट प्रदान गरिने सेवामा असर नपर्नेगरी निर्माणको काम गर्न समेत निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।
त्यस अवसरमा अस्पताल विकास समितिका पूर्व अध्यक्ष बाबुराम भट्टराई, पूर्व मेसु डा. कृष्ण खनाल, प्रशासकीय प्रमुख राजन केसी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
