नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस र एमालेले निश्चित उद्देश्य लिएर सत्ता गठबन्धन गरेको बताउँदै त्यो उद्देश्य पुरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।
विगतमा पनि काँग्रेस एमाले एक ठाउँमा हुँदा उद्देश्य पुरा भएको बताउँदै अहिले पनि निश्चित उद्देश्य पुरा हुने बताउनु भएको हो । उहाँले यो गठबन्धन पुरा अवधि चल्ने पनि विश्वास व्यक्त गर्नुभयो । ‘काँग्रेसको चकचक गर्ने बानी छैन, हामी चकचक गर्दैनौं ।’ उहाँले भन्नुभयो–‘एमालेलाई उपद्रो गर्न पनि दिँदैनौं ।’
नेपाली काँग्रेस रुपन्देही प्रशिक्षण शाखाले लुम्बिनीमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले काँग्रेस र एमाले मिल्दा २०४७, २०५६, २०६२–०६३ को राजनीतिक परिवर्तन र काँग्रेस एमालेकै गठबन्धन सरकारले २०७२ मा संविधान जारी गरेको स्मरण गर्नुभयो । उहाँले अहिले पनि लिएको उद्देश्य पुरा हुने दावी गर्नुभयो । महामन्त्री थापाले संविधान गतिशिल दस्तावेज भएकाले समयको आवश्यकता अनुसार संशोधन गर्न सकिने बताउँदै सबैको सहमतिमा संविधान संशोधन हुने पनि बताउनु भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भरतकुमार शाहले पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढ्नुपर्ने भनाई राख्नुभयो ।
त्यस्तै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पछिल्लो समय पार्टीमा सिद्धान्त र विचार हराउँदै गएको बताउँदै यो प्रशिक्षण कार्यक्रमले पार्टीको विचार र सिद्धान्तलाई पार्टीका कार्यकर्ता र आम नागरिकले बहस गर्नेगरी ढोका खोल्नुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले प्रशिक्षण कार्यक्रमले पार्टीलाई अझै बलियो र गतिशिल बनाउने विश्वास व्यक्त गर्नुभयो ।
तीन दिनसम्म प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द पोखरेल, सुरेश आचार्य, छन्दकुमार पहराई र उमेश श्रेष्ठले प्रशिक्षण गर्नुहुने नेपाली काँग्रेस रुपन्देहीकी उपसभापति तथा प्रशिक्षण शाखाकी संयोजक अनिता शाहले जानकारी गराउनु भयो । त्यस्तै प्रशिक्षण कार्यक्रमको समापनमा पार्टीका उपसभापति पूर्णबहादुर खड्का आउने कार्यक्रम तय गरिएको छ ।