बुटवलको वेस्टर्न मेगा कलेजमा नेपाली मौलिकतामा आधारित ‘फ्लेवर अफ नेपाल’ कार्यक्रम गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १५ ढवाहामा रहेको वेस्टर्न मेगा कलेजमा अध्ययनरत विद्यार्थीले नेपाली मौलिकता झल्किने ‘कलीनारी जर्नी फ्रम राउटे टु फाइन डाईनिङ’ नाम दिईएको राउटे, पहाडी समुदाय र फाइन डाइनिङको अवधारण अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।
बि.एच.एम. अध्ययन गरिरहेका विद्यार्थीले आयोजना गरेको उक्त कार्यक्रम अवलोकनमा पुगेका प्रतिनीधि सभा सदस्य बासुदेव घिमिरेले खानेकुरा पेटलाई मात्र नभई आँखालाई सन्तुष्टि हुनुपर्ने बताउँदै त्यस्तो खानाका परिकारमा स्वाद पनि हुने बताउनु भयो । उहाँले शिक्षालाई सीपसंग जोड्न अपरिहार्य रहेको बताउँदै सीपयुक्त शिक्षा दिने शिक्षण संस्थालाई कसरी सहयोग गर्न सकिन्छ, त्यसमा आफू सहयोगी बन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी बुटवल उपमहानगरपालिकाका प्रवक्ता बुटवल वडा नं. १७ का अध्यक्ष शिव रानाले आफूले सोचे भन्दा पृथक कार्यक्रम भएको बताउनु भयो । विद्यार्थी हरुले आफूले पढेको विषयमा नाट्य शैलीमा खाना पकाउँदै खुवाउँदा त्यसले उनीहरुलाई प्रयोगात्मक क्षमताको समेत विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै ईञ्जिनियर दुजेन्द्र बस्नेतले राउटे देखि फाइभ स्टार होटल सम्मको खानाको परिकार चाख्न पाउँदा छुट्टै अनुभव भएको बताउनु भयो । यस्ता इभेन्टले विद्यार्थीलाई बास्तविक होटेल म्यानेजमेन्टका च्यालेन्ज तथा कमजोरी, अनुभव र यसलाई सच्याएर लैजाने शिक्षा प्राप्त गर्न सकिने हुदा हरेक सेमेस्टर मा भिन्न भिन्न कार्यक्रम आयोजना गरिएको वेस्टर्न मेगा कलेजका प्रचार्य अधिवक्ता किशु शर्माले जानकारी दिनुभयो ।
विद्यार्थीमा सैद्धान्तिक, प्रयोगात्मक तथा व्यवहारिक र व्यवसायिक विकासका लागि विद्यार्थीलाई अवसर प्रदान गर्दै आएको पनि उहाँले जानकारी गराउनु भयो ।
हरेक शैक्षिक वर्षमा चौथो सेमेस्टरमा भिन्न भिन्न इभेन्टको आयोजना गर्दै आएको बताउँदै उहाँले यो पटक विद्यार्थीले केही फरक नेपालको पहिचान राउटे समुदाय, पहाडी समुदाय र स्टार होटलको खाना समावेश गरि नेपालको सबै भौगोलिक क्षेत्रलाई समेट्ने खानाका परिकारहरु बनाएको बताउनु भयो ।
कार्यक्रम विभागीय प्रमुख सुमन आचार्यको संयोजनमा भएको थियो । वेस्टर्न मेगा कलेजले बि.एच.एम. तथा एम.बि.ए.का कक्षा सञ्चालन गर्दै आइरहेको छ ।

