नेपाल इञ्जिनियर्स एशोसियशन लुम्बिनीको सभापति पदमा महेश्वर लम्साल विजयी हुनु भएको छ । नेपाल इञ्जिनियर्स एशोसियसन लुम्बिनी प्रदेशको तेस्रो निर्वाचनमा नेपाली काँग्रेस निकट सिडेन, एमाले निकट पिन र माओवादी केन्द्र निकट निओन प्रतिस्पर्धामा थिए । यो निर्वाचनमा एक जना सदस्य पदमा बाहेक सबै पदमा सिडेनका उम्मेद्वार विजयी भएका छन् ।
सभापति पदमा सिडेनका उम्मेद्वार लम्साल निकटतम प्रतिद्वन्दी एमाले निकट पिनका उम्मेद्वार जयलाल मरासिनी भन्दा दोम्बर मत अन्तरले विजयी हुनु भएको छ । अध्यक्षमा निर्वाचित लम्सालले ८८४ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्दी पिनका उम्मेद्वार मरासिनीले ४४० मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य पदमा सिडेनकै आकाश बर्मा निर्वाचित हुनुभएको छ । उहाँले ५३३ मत प्राप्त गर्दा पिनका बलराम पौडेलले ५१३ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्ष पदमा सिडेनका शिवप्रसाद तिवारीले ६८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिव पदमा ७७८ मत सहित प्रवेश पौडेल, सहसचिवमा ६९२ मत सहित संकल्प बुढाथोकी र कोषाध्यक्ष पदमा ८०१ मत सहित प्रविण सापकोटा विजयी हुनु भएको छ ।
त्यसैगरी कार्यसमिति सदस्य पदमा अम्बिका ढुंगाना, सुचित बिष्ट, कृतेशकुमार श्रेष्ठ, दिपेश गौतम, कमलराज ढुंगाना, जीवन पाण्डे, दैवग्य जोशी, सुरक्षित ज्ञवाली, रुपेश परियार र निशा बेलबासे निर्वाचित हुनुभएको छ । सदस्यमा निर्वाचित वेलवासे मात्रै पिनकी उम्मेवार हुनुहुन्थ्यो । लुम्बिनी प्रदेशको बुटवल सहित दाङ र नेपालगञ्जमा मतदान भएको थियो ।