स्थानीय तहको रिक्त पदमा उपनिर्वाचित गर्ने मिति सहित निर्वाचन आयोगले सरकारलाई परामर्श गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा गर्न सरकारलाई परामर्श दिएको छ ।
आयोगका पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर स्थानीय तहमा उपचुनावको मिति सहित सुझाव दिएको हो ।
निर्वाचन आयोगका अनुसार हाल तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ । काठमाडौंको कीर्तिपुर नगपालिका, मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रिक्त छ । त्यस्तै दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रिक्त छ ।
रुकुम पुर्वको पुथा गाउँपालिककी उपप्रमुख भुपेन्द्र बुढाको शुक्रबार मात्र सवारी दुर्घटनामा निधन भएको थियो । त्यसमा पनि पद रिक्त भएको औपचारिक जानकारी आए मंसिर १६ मै उपचुनाव गर्न सकिने निर्वाचन आयोगले जानकारी गराएको छ ।
सरकारले निर्वाचनको मिति घोषणा गरेमा २६ कात्तिकमा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने आयोगको आन्तरिक तयारी छ ।