नेपाल रेडक्रस सोसाईटी रुपन्देहीले उपशाखा सशक्तिकरणका लागि प्रशिक्षण गरेको छ । जिल्ला शाखाले तयार गरेको तीन वर्षे रणनीति अनुसार उपशाखाहरुको सशक्तिकरणका लागि मंगलबार उपशाखाका प्रतिनीधिहरुलाई प्रशिक्षण गरेको हो ।
नेपाल रेडक्रस सोसाईटी रुपन्देही अन्तरगत जिल्लामा २० वटा उपशाखा रहेका छन् । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले प्रकोपका वेला उद्धार र राहत वितरणमा रेडक्रसको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले रेडक्रसको शिक्षा बालबालिकामा पुर्याउन सकियो भने त्यसले समाज रुपान्तरणमा समेत तथ योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको जग्गामा रहेको रक्तसञ्चार सेवा केन्द्र त्यहाँबाट विस्थापित हुँदा के गर्ने भन्न समस्या उत्पन्न भएको बेला उहाँले जग्गा व्यवस्थापनको लागि पनि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
तिलोत्तमा नगरपालिकालाई मानवमैत्री नगरपालिका बनाउन चाहेको बताउँदै त्यसको लागि पश्चिम पहुनीमा मानव सेवा आश्रम निर्माण भएको र त्यसको सञ्चालनको लागि नगरपालिकाले प्रत्येक वर्ष १० लाख रुपैंया वेजेट विनियोजन गर्दै आएको जानकारी गराउनु भयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश सभापति कृष्णप्रसाद पंगेनीले रेडक्रसले समाजमा गर्दै आएको सेवाको बारेमा जानकारी गराउँदै बुटवलको रक्तसञ्चार सेवा केन्द्रको व्यवस्थापनको लागि ध्यानाकर्षण गराउनु भएको थियो ।
जिल्ला शाखा रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति रुक्माकुमारी हिराचन, मन्त्री रामचन्द्र उपाध्याय, प्रमुख प्रशिक्षक शंकर भट्टराई लगायतले भनाई राख्नुभएको थियो ।