स्वास्थ्य विमाको सुविधा ५ लाख पुर्याउने योजना

1.3K

स्वास्थ्य विमाको सुविधा ५ लाख पुर्याउने योजना

स्वास्थ्य विमा गर्ने व्यक्तिले पाउने उपचार सुविधा पाउने रकम १ लाखबाट बढाएर ५ लाख रुपैयाँ पुर्याउने मन्त्रालयले योजना अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले कार्यान्वयनमा रहेको एक लाख रुपैयाँको स्वास्थ्य बीमाले धेरै नागरिकलाई राहत दिए पनि यो रकम अपर्याप्त रहेको निश्कर्ष सहित ५ लाख रुपैंया पुर्याउने योजना अघि बढाएको हो ।
मिर्गौला, मुटु, कलेजो, फोक्सो र मस्तिष्कघात जस्ता गम्भीर रोगको उपचारका लागि एक लाख रकम अप्रयाप्त थियो । बीमितलाई ५ लाखसम्मको उपचार सुविधा दिन स्रोत व्यवस्थापनका लागि मन्त्रालयले विभिन्न उपायहरू प्रस्ताव गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलका अनुसार संघीय, प्रदेश र स्थानीय सरकारले स्वास्थ्य सेवामा खर्च गर्ने वार्षिक ३१ अर्ब रुपैयाँ बीमा कोषमा समावेश गर्ने, सरकारी तथा गैरसरकारी कर्मचारीको तलबको २ प्रतिशत बीमा कोषमा जम्मा गर्ने, स्वास्थ्य कर दोब्बर गर्ने र विद्युत शुल्कको १ प्रतिशत बीमा कोषमा समावेश गर्ने योजना छ ।
त्यसैगरी हाल बीमितले आफ्नो उपचार खर्च बापत १० प्रतिशत आफैं तिर्नुपर्ने (को–पेमेन्ट प्रणाली) मा पनि परिवर्तन गरिने छ । हाल एक लाख रुपैयाँमा १० प्रतिशत (१० हजार) तिर्नुपर्ने व्यवस्थालाई पाँच लाखमा ७ प्रतिशत (३५ हजार) मा परिवर्तन गरिनेछ ।
मन्त्रालयले नक्कली बीमा दाबी रोक्न कडा कानुनी व्यवस्था गर्न लागेको छ । बीमा ऐनमा संशोधन गरी नक्कली दाबी गर्ने कर्मचारीलाई बर्खास्त गर्ने र सम्बन्धित अस्पतालको सम्झौता खारेज हुनेसम्मको व्यवस्था गर्न लागिएको हो । बीमा र निजी खर्चमा उपचार गराउने बिरामीबीच हुने विभेद अन्त्य गर्न सबै नागरिकको उपचार बीमामार्फत मात्र गर्ने नीति लिन लागिएको छ ।
यो योजना प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रस्तुत गरिसकिएको छ । डा. शम्भु आचार्यको नेतृत्वमा गठित समितिको प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गरी अनुमोदन गराएर कार्यान्वयन गर्ने तयारी छ ।