स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्नेको परिवारलाई २ लाख रुपैंया दिने निर्णय गर्नुभएको छ । यस अगाडि मृत्युपश्चात मानव अंग दान गर्नेको परिवारलाई १ लाख रुपैंया दिँदै आएकोमा मन्त्री पौडेलले १ लाख रुपैंया थप गर्ने निर्णय गर्नुभएको हो ।
उक्त रकम भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत दिईँदै आएको छ । मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक स्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्नेगरी निर्णय गरिएको मन्त्री पौडेलले बताउनु भयो ।
अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पु¥याएको छ । आफ्नो मृत्युपछि अरुको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजिएको मन्त्री पौडेलले बताउनु भयो । मन्त्री पौडेलले यसअघि नै अंगदान गर्ने घोषणा गरिसक्नु भएको छ ।
मानव अंग प्रत्यारोपण केन्द्रका अनुसार देशभर हरेक वर्ष मृगौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले नाम लेखाउने गरेका छन् । जीवित रगतको नाता पर्ने बाहेकले अंगदान गर्न पाउँदैनन् । तर, मृत्युपश्चात दान दिने गरी अंगदान गर्न पाउने कानुनी व्यवस्था छ ।