लुम्बिनी प्रादेशिक अस्पतालमा छुट्टै महिला तथा प्रसुती शल्यक्रिया कक्ष स्थापना गरिएको छ । उक्त शल्यक्रिया कक्षको हालै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै उहाँले भन्नुभयो–‘उपचार सेवा लिन पालो पर्खनुपर्ने अवस्था छ । त्यसलाई घटाउन सहयोग पुग्ने विश्वास लिएको छु ।
उहाँले लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनेगरी सरकारले कार्यक्रम बनाएको बताउँदै त्यसमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको महत्वपूर्ण योगदान जरुरी रहेको औंल्याउनु भयो
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशका सबै स्वास्थ्य संस्थाहरुलाई सरकारले नजिकबाट निगरानी गरेर मुल्याङ्कन गरिरहेको बताउँदै जिम्मेवारीमा प्रतिवद्ध भएर सेवामा लाग्न आग्रह गर्नुभयो ।
अस्पतालको सेवा बिस्तार तथा गुणस्तर सुधारका लागि आर्थिक अभावको चुनौती भोग्नु परिहेको बताउँदै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सरकारले बीमा सेवा कार्यक्रम बापत उपलब्ध गराउनु पर्ने २२ करोड बढी रकम हालसम्म पनि उपलब्ध नगराउँदा समस्या सिर्जना भएको उल्लेख गर्नुभयो । यसैगरी अस्पतालको आयश्रोत वृद्धिका लागि एमडी र विएससी नर्सिङ कक्षा सञ्चालन गर्ने योजनालाई छिटो कार्यान्वयनका लागि सरकारले सहयोग गर्न आग्रह गर्नुभयो ।
अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै शल्यक्रिया कक्ष स्थापना भएपछि अब शल्यक्रियाका लागि पालो कुर्नुपर्ने समस्या केही हदसम्म हल हुने आशा व्यक्त गर्नुभयो ।
प्रसुती सेवातर्फ विशिष्टिकृत अस्पतालको रुपमा स्थापित गर्न थप गरिएको शल्यक्रिया कक्षले सहयोग गर्ने र यस बाहेकका सेवामा समेत पालो कर्नुपर्ने अवस्थालाई उल्लेख्य मात्रामा कम हुने उहाँको भनाई छ ।
प्रसुती सेवालाई विस्तार गर्दै तीन वटा शल्यक्रिया कक्षसँगै ८ वटा वेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेड सञ्चालनमा आएको हो । सञ्चालनमा ल्याइएको नयाँ थिएटरमा १ जनरल अपरेशन तथा २ वटा मेजर अपरेशन रुम रहेको मेसु ढकालले जानकारी दिनुभयो । जनरल रुपमा २ वटा अपरेशन थिएटर रहेका छन् ।
विगत ३ वर्षको तथ्याङ्क अनुसार अस्पतालमा वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिएका छन् । अस्पतालमा पछिल्लो आर्थिक वर्ष २०८०।८१ मा ९ हजार ७६५ वटा शल्यक्रिया सेवा लिएका थिए । जसमध्ये ४ हजार ५४७ वटा शल्यक्रिया प्रसूती सेवातर्फको रहेको अस्पतालले जनाएको छ । अस्पतालमा प्रसूती सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएका मध्ये ७ हजार ५४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् । पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९७१ जनाले स्वास्थ्य सेवा लिएको तथ्याङ्कमा उल्लेख छ ।