प्रतिनीधि सभा सदस्य दीपक बोहोराको निधन भएको छ । रुपन्देहीको क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनीधि सभा सदस्य बोहोराको मंगलबार बिहान निधन भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री ७६ वर्षीय बोहराको काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा निधन हो ।
२०७७ जेठमा कोरोना महामारीको दोस्रो लहरमा कोरोना संक्रमित हुनु भएका बोहोरालाई पोस्ट कोभिड समस्याले बोल्न सक्नुहुन्नथ्यो । कोरोना संक्रमणका कारण स्वरमा समस्या भएपछि गएको प्रतिनीधि सभा निर्वाचनमा उहाँ नबोलीकनै चुनाव जित्नुभएको थियो । त्यसयता पनि उहाँले बोल्नु भएन । प्रतिनीधि सभामा पनि उहाँले आफ्ना कुरा अरु सांसदमार्फत सुनाउने गर्नुभएको थियो ।
उहाँको शव सेनाको हेलिकप्टरबाट भैरहवा ल्याईँदैछ । उहाँका शवलाई श्रद्धाञ्जलीका लागि आज दिनभरि राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने छ । त्यसैगरी भोली बुधबार बिहान काठमाण्डौ लगेर श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालयमा राखिने र साँझ आर्यघाटमा अन्तिम संस्कार गरिने सो पार्टीले जनाएको छ ।