भारत र पाकिस्तान बिच तनाव सुरु भएपछि नेपाली सिमा क्षेत्र र विमानस्थलहरुमा सुरक्षा सतर्कता बढाईएको छ । भारत र पाकिस्तान बिच द्वन्द्व बढेसंगै त्यसका असरहरु नेपालमा नपरोस भन्नका लागि सिमा क्षेत्र र विमानस्थलहरुमा सुरक्षा सतर्कता बढाईएको हो ।
भारत र पाकिस्तान बिच द्वन्द्व बढेपछि बुधबार मात्रै नेपालको केन्द्रीय सुरक्षा समिति र लगत्तै प्रधानमन्त्री सहितको राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको थियो । उक्त बैठकले भारत पाकिस्तान विच भएको द्वन्द्वको प्रभाव नेपालमा पर्न नदिनेगरी सुरक्षा सतर्कता अपनाउने निर्णय लिएको हो ।
मंगलबार रातिबाट भारतले पाकिस्तानमा मिसाइल आक्रमण गरेपछि पाकिस्तानले सबै विमानस्थल बन्द गरेको खबर सार्वजनिक गरेको छ । भारत र पाकिस्तानबीच युद्ध चर्किने अवस्था आए त्यसको प्रत्यक्ष असर नेपालसम्म आईउन सक्नेछ ।
नेपालबाट दक्षिण पश्चिम भेगमा रहेका सबै गल्फ मुलुक तथा युरोपबाट आउने जहाजले पाकिस्तान र भारतको एयरस्पेस हुँदै काठमाडौं आउने गर्छन् । पाकिस्तानले भारतमाथि समेत मिसाइल प्रयोग गर्ने अवस्था आयो भने व्यावसायिक उडान उक्त रुटमा स्वतः बन्द हुन्छन् । त्यस अवस्थामा तेस्रो मुलुकसंग नेपालको हवाई सम्पर्क टुट्न सक्छ ।