देवदहमा छाडा कुकुर उपचार केन्द्र सञ्चालन

1.3K

देवदहमा छाडा कुकुर उपचार केन्द्र सञ्चालन

रुपन्देहीको देवदहमा छाडा कुकुर उपचार केन्द्र सञ्चालनमा आएको छ । यशोदा पार्वती फाउण्डेसनको सहयोग तथा अल केयर नेपालका व्यवस्थापनमा देवदह नगरपालिका वडा नं. १० चरङ्गेमा निर्माण गरिएको छाडा कुकुर उपचार केन्द्रको आईतबार देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गर्नुभयो ।
छाडा कुकुर व्यवस्थापन तथा उपचार केन्द्रको उद्घाटन गर्दै समाजका धनी र मनकारी व्यक्तिहरुले असाहाय जनवार वा आफु भन्दा कम सम्पन्न व्यक्तिहरुलाई सहयोग गर्नु राम्रो भएको बताउनु भयो । जनावरप्रतिको संवेदनशीलता मानव सभ्यताको सूचक भएको धारणा राख्दै नगर प्रमुख खरेलले नगरपालिकाको तर्फबाट यस्ता कार्यमा समर्थन र सहकार्य रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा नगरप्रमुख खरेलले उक्त उपचार केन्द्रको भवन समेत उद्घाटन गर्नुभयो । त्यसैअवसरमा विरामी कुकुर ओसारपसारका लागि यशोदा पार्वती फाउण्डेसनले अल केयर नेपाललाई डग एम्बुलेन्स प्रदान गरेको छ ।

कार्यक्रममा यशोदा पार्वती फाउण्डेसनका अध्यक्ष नरिश्वर शर्मा पौडेलले सडकमा वेवारिसे विरामी कुकुरको उपचार र व्यवस्थापनका लागि कुकुर उपचार केन्द्र स्थापना गरिएको जानकारी गराउनु भयो । उहाँले अबोध प्राणी कुकुर मानिसको सहयोगी प्राणी पनि भएको र वातावरणीय सन्तुलन कायम राख्नका लागि पनि उपयोगी हुने भएकाले संरक्षण अपरिहार्य रहेको बताउनु भयो ।
कार्यक्रममा फाण्डेशनका संरक्षक तथा यशोदा फूड प्रा.लि.का अध्यक्ष चुन्नप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका वडा नं. १० का अध्यक्ष यकबहादुर सुनार, कामधेनु गौशालाका संस्थापक योगी शोमराज, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, मारवाडी महिला समितिकी अध्यक्ष सुनन्दा मालपानी लगायतले मावन सभ्यताको सुरुवाती कालदेखि नै मानिस र कुकुर विचको सम्बन्धका बारेमा भनाई राख्नुभएको थियो ।
देदहको चरङ्गेमा सञ्चालनमा ल्याईएको छाडा कुकुर उपचार तथा व्यवस्थापन केन्द्रले यस आसपासका क्षेत्रलाई समेट्नेगरी दीर्घकालिन संरचना निर्माण गर्ने पनि जनाएको छ ।