सरकारी भुक्तानी नआए निःशुल्क सेवा बन्द गर्ने मुटु अस्पतालकाे चेतावनी

1.3K

सरकारी भुक्तानी नआए निःशुल्क सेवा बन्द गर्ने मुटु अस्पतालकाे चेतावनी

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले नेपाल सरकारबाट पाउनुपर्ने उपचार सेवा वापतको रकम समयमै प्राप्त नभए पुस मसान्तपछि निःशुल्क सेवा बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ ।
बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष एजाज आलमले सरकारबाट ठूलो रकम भुक्तानी हुन बाँकी रहेकाले अस्पताल गम्भीर आर्थिक संकटमा परेको जानकारी दिनुभयाे । सरकारबाट नियमित रूपमा पाउनुपर्ने रकम रोकिँदा औषधि तथा उपकरण आपूर्ति, चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब भुक्तानीमा समेत समस्या उत्पन्न भएको उहाँले बताउनु भयाे ।
‘स्वस्थ मुटु, हाम्रो अभियान’ भन्ने मूल नारासहित २०७० साल पुस १० गतेदेखि सञ्चालनमा आएको यस अस्पतालले लुम्बिनी प्रदेशसहित गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ४२ जिल्लाका नागरिकलाई सेवा दिँदै आएको छ । १२ वर्षको अवधिमा अस्पतालले मुटु, मिर्गौला र जनरल फिजिसियन सेवा गरी ५ लाखभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिसकेको जनाएको छ ।
बुटवलमै मुटु उपचारको सुविधा नहुँदा बिरामी बाहिर जानुपर्ने बाध्यता रहेको अवस्थामा स्थापना भएको अस्पतालमा २०७३ सालदेखि क्याथ ल्याब सञ्चालनमा आएको हो । क्याथ ल्याबमार्फत एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेसमेकर जडानलगायत सेवा लिई हालसम्म ६ हजार १६९ जनाले लाभ लिएका छन् ।
यस्तै, २०७२ सालदेखि सुरु गरिएको मिर्गौला उपचार सेवाअन्तर्गत हालसम्म ३ लाख २३ हजार ७२ सेसन निःशुल्क डायलाइसिस सेवा प्रदान गरिएको छ । बढ्दो चापलाई मध्यनजर गर्दै बुटवलसँगै दाङको लमही, पाल्पाको तानसेन, स्याङ्जाको वालिङ र कपिलवस्तुको बाणगङ्गामा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याइएको छ भने नवलपरासीको सुनवलमा शीघ्र सञ्चालनको तयारी भइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार नेपाल सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा मात्र १ हजार ३८४ जना मुटुका बिरामीलाई ४ करोड ६४ लाख ८९ हजार १४ रुपैयाँ बराबरको सेवा प्रदान गरिएको छ । यस्तै ५५१ जना मिर्गौला बिरामीलाई १३ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबरको निःशुल्क डायलाइसिस सेवा दिइएको छ । यस वर्ष मात्रै मुटु र मिर्गौला उपचारमा १८ करोड ५९ लाख ५४ हजार १४ रुपैयाँ बराबरको सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ ।
तर भुक्तानी प्रक्रिया एक निकायबाट अर्को निकायमा सारिँदा समस्या आएको अस्पतालको गुनासो छ । आर्थिक वर्ष २०७९/८० मा बाँकी रहेको ६ करोड १९ लाख ७२ हजार ५ सय रुपैयाँ हालसम्म नपाएको र चालु आर्थिक वर्षमा पनि २० करोड ३९ लाख ३१ हजार ८७९ रुपैयाँ पाउन बाँकी रहेको अध्यक्ष आलमले जानकारी दिनुभयाे ।
यदि पुस मसान्तसम्म सरकारले भुक्तानी नगरे माघ १ गतेदेखि मुटु उपचारमा दिइँदै आएको एक लाख रुपैयाँ बराबरको सहयोग तथा मिर्गौला बिरामीका लागि निःशुल्क डायलाइसिस सेवा बन्द गर्न बाध्य हुने अस्पतालले चेतावनी दिएको छ । यसबाट बिरामीलाई पर्न जाने असुविधाप्रति अस्पतालले क्षमायाचना गरेको छ ।