नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ भने केही क्षेत्रमा अन्तिम निर्णय हुन बाँकी रहेको छ ।
सो पार्टीले पश्चिम नवलपरासीमा १ नम्बर निर्वाचन क्षेत्रमा सिन्धु जलेसा र २ नम्बर क्षेत्रमा देवेन्द्र पौडेललाई उम्मेदवार बनाइएको छ । रुपन्देहीका पाँचमध्ये चार निर्वाचन क्षेत्रमा उम्मेदवार तय भएका छन् । रुपन्देही–२ मा विश्वदीप पाण्डे, ३ मा फैयाद खान, ४ मा बाबुलाल यादव र ५ मा वकिल मुसलमान उम्मेदवार बनेका छन् ।
कपिलवस्तु–१ मा कृष्ण कँवरको नाम टुंगिएको छ भने २ र ३ नम्बर निर्वाचन क्षेत्रमा निर्णय हुन बाँकी छ । दाङ–३ मा धनबहादुर मास्की उम्मेदवार चयन भएका छन् । दाङ–१ मा मेटमणि चौधरी वा कुलप्रसाद केसीमध्ये एकको नाममा छलफल जारी रहेको छ भने दाङ–२ मा निर्मल आचार्यको नाममा आन्तरिक परामर्श भइरहेको जनाइएको छ ।
पूर्वी रुकुममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रोल्पामा वर्षमान पुन र प्युठानमा भोजविक्रम बुढालाई उम्मेदवार बनाइएको छ । अर्घाखाँचीमा रामबहादुर चौहान, गुल्मी–१ मा सुदर्शन बराल र गुल्मी–२ मा बुद्धिबहादुर जीसी उम्मेदवार चयन भएका छन् ।
पाल्पाको क्षेत्र नं. १ मा होमबहादुर सुनारी र क्षेत्र नं. २ मा सोमप्रसाद पाण्डेको नाम टुंगिएको छ । बर्दिया–१ मा बामदेव गौतम उम्मेदवार बनेका छन् भने बर्दिया–२ मा दुर्गा बहादुर थारु (कविर) वा लालवीर चौधरीमध्ये एकलाई उम्मेदवार बनाउने विषयमा छलफल जारी छ ।
पार्टी नेतृत्वले बाँकी रहेका निर्वाचन क्षेत्रहरूको उम्मेदवार छनोट चाँडै टुंग्याउने जनाएको छ । नेकपाले लुम्बिनी प्रदेशलाई निर्वाचनमा रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्रका रूपमा लिँदै तयारीलाई तीव्र बनाएको बताइएको छ ।