सर्वोच्चको रिट लिएर पुग्यो देउवा समूह : मनोनयन दर्ताको समय सार्न आयोगलाई दबाब

1.3K

सर्वोच्चको रिट लिएर पुग्यो देउवा समूह : मनोनयन दर्ताको समय सार्न आयोगलाई दबाब

आगामी फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताको समयसीमा सार्न निर्वाचन आयोगमाथि दबाब बढ्दै गएको छ । माघ ६ गते तोकिएको मनोनयन मितिमा समय अभाव हुनुका साथै नेपाली काँग्रेसभित्र देखिएको विवादका कारण मिति सार्नुपर्ने माग तीव्र बनेको आयोगका एक पदाधिकारीले बताएका छन् ।
यसैबीच, आइतबार सर्वोच्च अदालतमा रिट दायर गरी मंगलबार पहिलो सुनुवाइको पेसी पाएपछि शेरबहादुर देउवा पक्ष निर्वाचन आयोग पुगेको छ । देउवा पक्षले सर्वोच्चमा दायर गरेको रिटको प्रतिलिपि लिएर मीनबहादुर विश्वकर्माको नेतृत्वमा आयोग पुग्दै प्रमुख आयुक्तसहित पदाधिकारीसँग भेट गरी मनोनयन दर्ताको मिति सार्न आग्रह गरेको हो ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिएको निर्णयप्रति असन्तुष्टि जनाउँदै आफूहरू अदालत गएको र अदालतको पहिलो सुनुवाइपछि मात्र मनोनयन गर्ने व्यवस्था मिलाइदिन देउवा पक्षले आग्रह गरेको आयोग स्रोतले जनाएको छ ।
आयोगका अनुसार काँग्रेस, एमाले लगायत दलहरूले मनोनयन दर्ताको समय माघ १५ देखि मसान्तसम्म सार्न औपचारिक तथा अनौपचारिक माग गरिरहेका छन् । उम्मेदवार छनोटमा समयको चाप परेपछि आयोगले केही दिनका लागि मनोनयन मिति सार्ने संकेत गरेको छ ।
विभिन्न दलबाट चौतर्फी दबाब आएको भन्दै आयोगका एक आयुक्तले सर्वदलीय सहमति भए एक–दुई दिन मनोनयन मिति सर्न सक्ने बताएका छन् । यद्यपि, फागुन २१ गतेको निर्वाचन मिति प्रभावित नहुने गरी मात्र मनोनयनको समय व्यवस्थापन गरिने आयोगको भनाइ छ ।