आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा निकायले सम्पूर्ण तयारी पूरा भएको दाबी गरेका छन् । निर्वाचन हुने-नहुने अन्योलका बीच तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दिशामा प्रक्रिया अघि बढेको हो । समानुपातिकतर्फका उम्मेदवारको टुंगो लागिसकेको छ भने प्रत्यक्षतर्फ मंगलबार मनोनयन दर्ता हुँदैछ ।
निर्वाचनलाई लक्षित गर्दै सरकारले म्यादी प्रहरी भर्नादेखि स्रोत-साधन व्यवस्थापनसम्म तीव्रता दिएको छ । गृह मन्त्रालयले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न गरी सम्भावित चुनौती र समाधानका उपायहरूबारे विस्तृत छलफल गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार ती गोष्ठीबाट मुख्यगरी तीन विषय स्रोत-साधन, जनशक्ति र साइबर सुरक्षा-प्रमुख चुनौतीका रूपमा पहिचान भएका थिए । उनका अनुसार अहिले ती तीनै क्षेत्रका चुनौती सम्बोधन भइसकेका छन् ।
स्रोत-साधनतर्फ नियमित बजेटबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले ३७७ वटा सवारी साधन खरिद गरिसकेका छन् । थप आवश्यकताका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरिरहेको छ ।
नेपाल प्रहरीका लागि सवारी, इन्धनलगायत शीर्षकमा १ अर्ब ५४ करोड ३३ लाख ९८ हजार ७५० रुपैयाँ स्वीकृत भइसकेको छ । सशस्त्र प्रहरीका लागि ६५ करोड २५ लाख ३४ हजार र गुप्तचर निकायका लागि ५ करोड ६५ लाख रुपैयाँ बजेट सुनिश्चित गरिएको छ ।
यसैबीच भारत सरकारले अनुदानमा उपलब्ध गराउने सवारीमध्ये पहिलो चरणमा ६१ वटा सवारी आइतबार नेपाल आइपुग्ने गृह मन्त्रालयले जनाएको छ । थप सवारी पनि क्रमशः आउने तयारीमा छन् ।
जनशक्ति परिचालन
जनशक्तितर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनका लागि म्यादी प्रहरी भर्ना प्रक्रिया तीव्र बनाएका छन् । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीलाई ७ अर्ब १३ करोड २५ लाख ८९ हजार र सशस्त्र प्रहरीलाई ८० करोड ८४ लाख ५३ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।
नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरीले १५ हजार ११० म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाइसकेका छन् ।
साइबर सुरक्षा र भ्रामक प्रचार नियन्त्रण
तेस्रो र नयाँ चुनौतीका रूपमा साइबर माध्यमबाट हुने भ्रामक प्रचारप्रसारलाई लिइएको छ । यसलाई नियन्त्रण गर्न निर्वाचन आयोगले यूएनडीपीको सहयोगमा एआईमा आधारित सफ्टवेयर प्रयोगमा ल्याएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सुमन घिमिरेका अनुसार ‘ई-मोनिटर प्लस’ नामक सफ्टवेयरले सामाजिक सञ्जालमा फैलिने मिस-इन्फर्मेसन, फेक इन्फर्मेसन र डिपफेक सामग्री पहिचान गर्न सहयोग गर्नेछ ।
यो सफ्टवेयरले शब्द र तस्बिरको निगरानी गर्नेछ भने प्राप्त सूचनाका आधारमा गलत प्रचार पहिचान गरी कारबाही प्रक्रिया अघि बढाइनेछ । सफ्टवेयर सञ्चालनका लागि निर्वाचन आयोगमा ‘इलेक्सन इन्फरमेसन डिसेमिनेसन सेन्टर (ईडीसी)’ गठन गरिएको छ । यस केन्द्रमा साइबर ब्युरोका डीएसपी, नेपाली सेनाका प्रतिनिधि, विज्ञापन बोर्डलगायत निकायको सहभागिता रहनेछ । साथै जिल्ला र प्रदेश प्रहरी कार्यालयमा साइबर तालिमप्राप्त जनशक्ति परिचालन गरिनेछ ।
प्रदेशगत रूपमा हेर्दा मधेशमा साम्प्रदायिक तनाव र सुरक्षा निकायबीच समन्वयको कमी, बागमती र गण्डकीमा साइबर चुनौती, कोशीमा नयाँ–पुराना दलबीच सम्भावित द्वन्द्व, कर्णाली र सुदूरपश्चिममा भौगोलिक विकटताका कारण मतपेटिका सुरक्षाको समस्या तथा लुम्बिनीमा अन्तरपार्टी झडपको जोखिम प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ ।
सुरक्षा अधिकारीहरूका अनुसार यी सबै चुनौतीलाई मध्यनजर गर्दै प्रदेश र जिल्लास्तरमा सुरक्षा योजना परिमार्जन भइरहेको छ । सरकार र सुरक्षा निकायको संयुक्त प्रयासबाट भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउने लक्ष्य लिइएको छ ।