पाल्पा भैरवस्थान–रुपन्देही परिवारमा सर्वसम्मत नयाँ कार्यसमिति चयन : अध्यक्षतामा कोईराला

1.3K

पाल्पा भैरवस्थान–रुपन्देही परिवारमा सर्वसम्मत नयाँ कार्यसमिति चयन : अध्यक्षतामा कोईराला

पाल्पा भैरवस्थान–रुपन्देही परिवारमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ । सोमबार बुटवलमा सम्पन्न नवौं साधारण सभा तथा चौथो अधिवेशनले रामचन्द्र कोईरालाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा घनश्याम नेपाल, सचिवमा नारायणप्रसाद खनाल, कोषाध्यक्षमा माधवप्रसाद ज्ञवाली तथा सह–सचिवमा अम्बिका खनाललाई चयन गरिएको छ । यसैगरी ११ सदस्यीय कार्यसमितिको सदस्यहरूमा मिनबहादुर खत्री, रुद्रबहादुर कार्की, दुर्गा गौतम आचार्य, हरिप्रसाद नेपाल, प्रेमनाथ ज्ञवाली र कल्पना पोखरेल निर्वाचित हुनुभएको छ ।
अधिवेशनले संस्थाको आर्थिक पारदर्शिता र सुशासनलाई थप प्रभावकारी बनाउन लेखा सुपरिवेक्षण समिति समेत गठन गरेको छ । समितिको संयोजकमा विष्णुप्रसाद खनाल तथा सदस्यहरूमा लक्ष्मणबहादुर पोखरेल र गोविन्दबहादुर थापालाई चयन गरिएको निर्वाचन समिति संयोजक अधिवक्ता तुलसीराम ढकालले जानकारी गराउनु भयो ।

कार्यक्रममा साहित्यकार तथा शिक्षक रमेश ढकालले समुदायको एकता र आपसी सहयोग नै संस्थाको मुख्य शक्ति हुने उल्लेख गर्दै यस्ता संस्थाहरूले सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष कोईरालाले संस्थाको उद्देश्य अनुसार समुदायबीच एकता, सहयोग र सामाजिक गतिविधिलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष केशव खनाल, सल्लाहकार नवराज श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । साधारण सभामा अध्यक्ष मेघराज कंडेल र कोषाध्यक्ष माधवप्रसाद ज्ञवालीले प्रस्तुत गर्नुभएको वार्षिक तथा आर्थिक प्रतिवेदन पारित भएको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ४ भैरवस्थानबाट बसाईसराई, पेशा तथा व्यवस्था वा अध्ययनका लागि रुपन्देहीमा आई बसोबास गरेका व्यक्तिहरू बिच आपसी भाइचारा, सद्भाव अभिवृद्धि तथा सदस्यहरूबीच सहयोग र समन्वयलाई सुदृढ बनाउने उद्देश्यले पाल्पा भैरवस्थान–रुपन्देही परिवार स्थापना गरिएको थियो ।