गगनलाई प्रधानमन्त्री बनाउन पनि काँग्रेसका उम्मेदवारलाई जिताउनु पर्छ

1.3K

गगनलाई प्रधानमन्त्री बनाउन पनि काँग्रेसका उम्मेदवारलाई जिताउनु पर्छ

नेपालको स्थायित्व, विकास र समृद्धि तथा सन्तुलित भू–राजनीतिक सम्बन्धका लागि पनि काँग्रेस सभापति गगन थापालाई प्रधानमन्त्री बनाउनु पर्ने औंल्याउँदै त्यसका लागि नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई जिताउनु पर्ने एक कार्यक्रमका वक्ताहरु औंल्याएका छन् ।
नेपाली काँग्रेस गुल्मी–रुपन्देही सम्पर्क समाजले मंगलबार बुटवलमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मुलुकको स्थायित्व, विकास र समृद्धिको लागि नेपाली काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको बताएका हुन् । उनीहरुकै शब्दमा ‘जसले भू–राजनीतिक सन्तुलन समेत राख्न सक्छ ।’ कार्यक्रममा गुल्मी क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य उम्मेद्वार डा. चन्द्र भण्डारी, क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उम्मेद्वार भुवनप्रसाद श्रेष्ठ र रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद पौडेलसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गुल्मी–रुपन्देही सम्पर्क समाजका अध्यक्ष गोपाल ज्ञवालीले रुपन्देही र यससंग जोडिएका गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ, पर्वत लगायतका पहाडी जिल्लाहरुको सम्बन्ध नङ र मासुको जस्तै रहेकाले रुपन्देहीले ती जिल्लाहरुमा र ती जिल्लाहरुले रुपन्देहीलाई अर्थपूर्ण सन्देश दिने बताउनु भयो । उहाँले अहिले देशले नेपाली काँग्रेसका सभापति गगनकुमार थापालाई प्रधानमन्त्री खोजिरहेको बताउँदै देशको आवश्यकता पुरा गर्नका लागिपनि काँग्रेसका उम्मेदवारहरुलाई जिताउनु पर्ने भनाई राख्नुभयो ।
त्यस अवसरमा संविधान सभा सदस्य समेत रहेका गुल्मी क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यका उम्मेदवार डा. चन्द्र भण्डारीले काँग्रेस यो देशको राजनीतिको मियो रहेको बताउँदै देशको राजनीतिक मियो बलियो बनाउने गरी लाग्न र सबैलाई आग्रह गर्नुभयो । उहाँले आफूहरुको पहलमा गुल्मीमा धेरै विकासका कामहरु गरेको स्मरण गर्दै भोलीका दिनमा हिजोका कमीकमजोरीहरु सच्याएर अधुरा योजना पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्यका उम्मेद्वार भुवनप्रसाद श्रेष्ठले क्षेत्रको विकासमा हिजो पटक पटक जितेर गएकाहरुले धोका दिएको बताउँदै त्यस क्षेत्रको विकासको लागि आफूलाई मत दिएर सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले आफूले जितेमा उक्त क्षेत्रलाई योजनावद्ध रुपमा विकास गरेर नमुना क्षेत्र बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभाका उम्मेदवार चुन्नप्रसाद पौडेलले मुलुकको विकास र समृद्धिको लागि औद्योगिक विकास अपरिहार्य रहेको र औद्योगिक विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै यस क्षेत्रको औद्योगिक विकासका लागि आफूलाई मत दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले मुलुकको दीगो विकास र स्थायित्वको लागि अहिलेको चुनावले धेरै अर्थ राख्ने बताउँदै मुलुकलाई सहि ट्रयाकमा हिडाउनको लागि पनि काँग्रेसकै नेतृत्वमा सरकार बनाउनु पर्ने भएकाले सबैले काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । उहाँले पहाडी जिल्लाका धेरै मतदाता यस क्षेत्रमा रहेको र चुनावमा एक मतको पनि ठूलो महत्व हुने भएकाले आफ्नो ठाउँमा गएर मतदानमा सहभागि हुन आग्रह गर्नुभयो ।