नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय बनेसँगै देशका विभिन्न भू-भागमा मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बुधबार दिउँसो उच्च पहाडी तथा हिमाली भू-भागमा घना बादल लाग्नेछ भने बाँकी पहाडी र तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम खालको हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा जनाईएकाे छ ।
यसका साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनेछ । कोशी प्रदेशका पहाडी भू-भाग र मधेश प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने कोशी प्रदेशकै तराईका एक-दुई स्थानमा पनि फाटफुट वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
त्यस्तै आज राति भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली कायम रहनेछ र बाँकी भू-भागमा मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात वा वर्षा हुनसक्ने मौसमविद्ले बताएका छन् ।
मौसमविद्हरूले हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने तथा कृषि कार्यमा संलग्न नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।