राष्ट्रिय जनमोर्चाको चुनावी घोषणा पत्र सार्वजनिक : संघीयता खारेज प्रमुख एजेण्डा

1.3K

राष्ट्रिय जनमोर्चाको चुनावी घोषणा पत्र सार्वजनिक : संघीयता खारेज प्रमुख एजेण्डा

सुरुदेखि नै संघियताको विरोध गर्दैै आएको राष्ट्रिय जनमोर्चाले आसन्न प्रतिनीधि सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । उक्त पार्टीले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरेर ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ’ भन्ने मूल नारासहित पार्टीको घोषणा पत्र औपचारिक रुपमा सार्वजनिक गरेको हो ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीले २५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै मुलुकलाई बलियो बनाउन विकेन्द्रित र सन्तुलित विकास नीति अपरिहार्य भएको बताउनु भयो । वर्तमान विकास अभ्यास ठूला सहर र सीमित विकसित क्षेत्रमै केन्द्रित रहेको उल्लेख गर्दै जनमोर्चाले अब क्षेत्रीय सन्तुलन कायम हुने गरी विकासका कार्यक्रम अघि बढाइने स्पष्ट पारेको छ ।
घोषणापत्रमा विकासमा पछि परेका जिल्ला तथा दुर्गम बस्तीलाई विशेष प्राथमिकता दिइने उल्लेख छ । साथै प्रवासी नेपालीलाई मताधिकार, विदेशी ऋणको दुष्चक्रबाट देशलाई मुक्त गराउने नीति, अन्तर निर्वाचन क्षेत्रबाट मतदानको व्यवस्था, द्वन्द्वपीडितलाई न्याय र राहत, बौद्धिक पलायन रोक्ने रणनीति, पहाडबाट बसाइँसराइ न्यूनीकरण तथा दुर्गम गाउँमा सुपथ मूल्य पसल स्थापना गर्ने प्रतिबद्धता जनमोर्चाले जनाएको छ ।
त्यसैगरी खाद्य सुरक्षा सुनिश्चितता, कारागार सुधार, एकीकृत नमूना बस्ती निर्माण, ग्रामीण विकास, मानवअधिकारको पूर्ण पालना, जेष्ठ नागरिकको स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी राज्यले लिने व्यवस्था, मजदुरको हकहित र रोजगारी, खेलकुद, शिक्षा तथा सामाजिक सुरक्षाका विषयहरू पनि घोषणापत्रमा समेटिएका छन् । अध्यक्ष केसीले निर्वाचनमा केही स्थानमा अपवादबाहेक अन्य राजनीतिक दलसँग एकता नगरी आफ्नै शक्तिमा चुनावमा जाने नीति पार्टीको रहेको बताउनु भयो । आगामी २१ फागुनमा हुने निर्वाचनमा जनमोर्चाले ४२ जिल्लाका ७० निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार उठाएको छ भने समानुपातिकतर्फ ११० जना उम्मेदवार रहेका छन् ।
संघीयताको खारेजीमार्फत गणतन्त्र र राष्ट्रियतामाथि देखिएको संकटविरुद्ध सबै देशभक्त नेपाली एकजुट हुनुपर्ने समय आएको अध्यक्ष केसीको भनाइ छ । उहाँले राष्ट्रियता, सार्वभौमिकता र अखण्डता गम्भीर चुनौतीमा परेको दाबी गर्दै देशलाई विखण्डन र क्षेत्रीय विग्रहतर्फ लैजान खोज्ने प्रयासप्रति सचेत रहन आग्रह गर्नुभयो ।
राजनीतिक दलहरूको कमजोरीका कारण विगतका केही घटनाहरू घटेको उल्लेख गर्दै केसीले अब जनतासँग क्षमा मागी देशमा देखिएको संकट समाधानका लागि एकजुट हुनुपर्ने आवश्यकता उहाँले औंल्याउनु भयो । कार्यक्रममा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले निर्वाचनमा ‘नयाँ र पुराना’ भन्ने भाष्य सिर्जना गरिएको उल्लेख गर्दै वास्तविक रूपमा जनताको पक्षमा काम गर्ने शक्तिलाई चिन्ने विवेक आवश्यक रहेको बताउनु भयो ।