रुपन्देही २ मा काँग्रेसको चुनावी रणनीति : अरुलाई गाली नगर्ने, आफ्ना कुरा राख्ने मत माग्ने

1.3K

रुपन्देही २ मा काँग्रेसको चुनावी रणनीति : अरुलाई गाली नगर्ने, आफ्ना कुरा राख्ने मत माग्ने

आगामी फागुन २१ गते हुने प्रतिनीधि सभा निर्वाचनको सन्दर्भमा नेपाली काँग्रेसले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नेगरी चुनावी रणनीति बनाउनुको साथै निर्वाचन परिचालन मुल समिति गठन गरेको छ । नेपाली काँग्रेसले पार्टीका क्षेत्रीय सभापति प्रजापाल गिरीको नेतृत्वमा निर्वाचन परिचालन मुल समिति गठन गरेको हो ।
निर्वाचन परिचालन मुल समितिमा क्षेत्रका २ वटै प्रदेश सभाका सभापतिहरु, तीन वटै नगरसमितिका सभापतिहरुलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ भने कुल ८ हजार ५६५ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरिएको क्षेत्रीय सचिव तथा निर्वाचन परिचालन मुल समितिका सदस्यसचिव विमलराज भट्टराईले जानकारी गराउनु भयो । त्यसैगरी यस क्षेत्रबाट केन्द्रीय सदस्य, यस अगाडिका निर्वाचनका उम्मेद्वारहरु लगायतलाई समेटेर सल्लाहकार समिति गठन गरिएको छ । त्यस्तैगरी विभिन्न विषयगत समितिहरु समेत गठन गरिएको छ ।
रुपन्देही क्षेत्र नं. २ मा नेपाली काँग्रेसले समाजसेवी उद्योगपती चुन्नप्रसाद पौडेललाई उम्मेद्वार बनाएको छ । पौडेल पार्टीको महासमिति सदस्य समेत रहनु भएको छ । उहाँले पार्टीको १४ औं महाधिवेशनमा यसै क्षेत्रबाट सबैभन्दा बढी मत पाएर महाधिवेशन प्रतिनीधि तथा महासमिति सदस्य निर्वाचित हुनु भएको थियो । नेपाली काँग्रेसले यसै क्षेत्रबाट काँग्रेस नेतृ रिता सेन वलीलाई समाुनपातिक उम्मेदवारको सूचीमा राखेको छ ।
‘बदलियो काँग्रेस, बदल्छौं देश’ नारा तय गरेको काँग्रेसले आसन्न निर्वाचनमा अधिकांश नयाँ अनुहारलाई उम्मेद्वार बनाएको छ । यस क्षेत्रमा उम्मेदवार बन्नुभएका पौडेल पनि पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको हो । यस अंगाडिका निर्वाचनमा यो निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिन्ह रुखमा मतदान गर्न नपाउँदा काँग्रेसीहरु निरास थिए । अहिले पार्टीकै उम्मेदवार र आफ्नै चुनाव चिन्हमा मतदान गर्न पाउने भएकाले पनि काँग्रेसीहरुमा उत्साह थपिएको क्षेत्रीय सभापति प्रजापाल गिरी बताउनु हुन्छ ।
काँग्रेसीहरुमा जागेको उत्साहमा खुसी थप्नका लागि जित निकाल्नुपर्ने दवावमा पार्टी रहेको र त्यसै अनुसारका रणनीति बनाएर प्रचारप्रसार, घरदैलो लगायतका गतिविधि अगाडी बढाईने पनि उहाँले बताउनु भयो । ‘यस अगाडिका निर्वाचनमा विभिन्न दलहरुसंग भएको गठबन्धनका कारण पार्टीको मत तितरवितर भएको र समानुपातिकमा समेत मत घटेको अवस्थामा आसन्न निर्वाचनमा पार्टीकै उम्मेदवार र पार्टीकै चुनाव चिन्हमा मतदान गर्न पाउने भएपछि काँग्रेसीलाई मात्रै नभई आम मतदातालाई काँग्रेसप्रति आशा जागेको छ ।’ क्षेत्रीय सभापति गिरीले भन्नुभयो–‘मतदाताको आशा, पार्टीप्रतिको भरोसा र हामीप्रतिको विश्वासमा कुठाराघात हुनेछैन, मतदातालाई हामी विश्वास दिलाउन चाहन्छौं, हाम्रो जित निश्चित छ ।’
यो निर्वाचनमा नेपाली काँग्रेसले अरुलाई हिलो नछ्याप्ने र मतदातालाई सफेद अनुहार देखाउने रणनीति बनाएको छ । चुनाव प्रचारप्रसारका क्रममा अरु दल र तीनका उम्मेद्वारलाई गाली नगरिकनै आफूले देखेको भिजन र बनाएका योजना मतदानलाई देखाएर मत माग्ने पार्टीले रणनीति बनाएको क्षेत्रीय सभापति गिरी बताउनु हुन्छ ।
यो निर्वाचन क्षेत्रमा काँग्रेसले समान रुपमा एमाले र रास्वपा दुबै दलका उम्मेद्वारलाई प्रमुख प्रतिस्पर्धीको रुपमा हेरेको छ । त्यसै अनुसार चुनावी रणनीति बनाएको काँग्रेसले आफ्ना उम्मेद्वार सहित नेता कार्यकर्तालाई आचारसंहिताको लगाम लगाएको छ । पार्टीले बनाएको विधि, लिएको नीति तथा गरेका निर्णय र बनाईएका योजनाका आधारमा गतिविधि अगाडि बढाउने गरी आचारसंहिता बनाएर कार्यान्वयनमा ल्याईएको उहाँले बताउनु भयो ।
लामो समयदेखि यस क्षेत्रमा जित निकाल्न नसकेको काँग्रेसका लागि अहिलेको निर्वाचन एउटा राम्रो अवसर पनि हो । आफ्नै उम्मेदवार, पार्टीकै चुनाव चिन्हमा मतदान गर्न पाउने भएपछि काँग्रेसमा बलियो एकता देखिएको छ । काँग्रेसका नेता कार्यकर्तामा देखिएको उत्साहले उम्मेद्वारलाई समेत थप उत्साहित बनाएको छ, बल पु¥याएको छ । काँग्रेस उम्मेद्वार चुन्नप्रसाद पौडेलले निर्वाचनमा जित निकाल्न सकियो भने आफ्नो भन्दा पनि पार्टीको जित हुने बताउनु भयो ।