निर्वाचन आयोगले कानुनी तथा समावेशी मापदण्ड पूरा नगरेका ७६ जना उम्मेदवारको नाम समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको बन्दसूचीबाट हटाएको छ ।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत राजनीतिक दलहरूले पेश गरेका समानुपातिक उम्मेदवारको बन्दसूची परीक्षण गर्दा विभिन्न कारणले योग्यता नपुगेका उम्मेदवारहरू फेला परेका हुन् । सोही आधारमा आयोगले उनीहरूको नाम सूचीबाट हटाएको हो ।
हटाइएकामध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना, प्रदेशसभा सदस्य समानुपातिक बन्दसूचीमै नाम कायम रहेका २५ जना तथा निर्वाचन आयोगले तोकेको जरिवाना नतिरेका १० जना रहेका छन् । यस्तै, २५ वर्ष उमेर पूरा नगरेका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना र मतदाता नामावली दर्ता क्षेत्र नमिलेका २ जना उम्मेदवार पनि सूचिबाट हटाइएको आयोगले जनाएको छ ।
यसैगरी, महिला उम्मेदवार पेश गर्नुपर्ने ठाउँमा पुरुष उम्मेदवार राखिएका १ जना, नाम हटाउन दलबाटै सिफारिस गरिएका १० जना तथा माथि उल्लेखित एकभन्दा बढी कारण एकै व्यक्तिमा देखिएका २ जना उम्मेदवारको नाम पनि हटाइएको छ ।
निर्वाचन आयोगले समावेशी प्रतिनिधित्व, कानुनी पालना र निर्वाचनको विश्वसनीयता कायम राख्न यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ ।