निर्वाचनमा एकताबद्ध भएर लाग्न काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिको आह्वान

1.3K

निर्वाचनमा एकताबद्ध भएर लाग्न काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिको आह्वान

मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता दिन आगामी निर्वाचन निर्णायक हुने औंल्याउँदै नेपाली काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिले एकतावद्ध निर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेको छ ।
नेपाली काँग्रेस लुम्बिनी निर्वाचन परिचालन समितिले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेशका १२ वटै जिल्लाका २६ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा खटिन र पार्टीका उम्मेद्वारको पक्षमा माहौल बनाउन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको हो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले गठन गरेको निर्वाचन परिचालन समितिका सयोजक, प्रदेश समितिका उपसभापति राजु खनालले जनताको अपेक्षा पूरा गर्न काँग्रेस पुनः जिम्मेवारीसाथ अघि बढ्ने दाबी गर्नुभयो ।
उहाँले नेपाली काँग्रेसले ऐतिहासिक रूपमा लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको उल्लेख गर्दै संविधान, संघीयता, गणतन्त्र र समावेशी व्यवस्थाको संरक्षण काँग्रेसकै प्राथमिकता रहेको बताउनु भयो । देशभित्र र बाहिर रहेका सम्पूर्ण लोकतन्त्रप्रेमी नागरिक, नागरिक समाज, युवा, बुद्धिजीवी तथा पार्टीका सम्पूर्ण पंक्तिलाई आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन एकताबद्ध भएर लाग्न उहाँले आह्वान गर्नुभयो ।
काँग्रेसले विगत केही वर्षयता देखिएका राजनीतिक अस्थिरता, आर्थिक चुनौती र सुशासनप्रतिको जनअसन्तुष्टिको समाधान काँग्रेसको नेतृत्वबाट मात्रै सम्भव हुने दाबी गरेको छ । पार्टीको संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण र तल्लो तहसम्म अभियान सञ्चालनलाई तीव्र बनाइएको बताउँदै उहाँले बदलिँदो राजनीतिक परिस्थितिमा काँग्रेसको भूमिका अझ जिम्मेवार र संवेदनशील हुनुपर्ने उल्लेख गर्दै अनुशासित, मर्यादित र जनमुखी निर्वाचन अभियान सञ्चालन गर्न पार्टी पंक्तिलाई निर्देश गर्नुभयो ।
नेपाली काँग्रेसले लोकतन्त्रको रक्षा, स्थायित्व र समृद्धिको लक्ष्य पूरा गर्न जनतासँग पुनः विश्वासको मत माग्दै आगामी निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा समेत जोड दिनुभयो ।