कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको दावी : शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको छ

1.3K

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको दावी : शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको छ

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने वातावरण बनेको बताउनु भएको छ । प्रारम्भमा शान्ति सुरक्षालाई लिएर आशंका रहे पनि हाल त्यस्तो चिन्ता नरहेको उहाँको भनाई छ ।
निर्वाचन घोषणा भएलगत्तै सुरक्षा चुनौतीबारे गम्भीर छलफल सुरु गरिएको उल्लेख गर्दै भण्डारीले यो विषय पछिल्लो समय निकै संवेदनशील रहेको बताउनु भयो । ‘निर्वाचन घोषणाको भोलिपल्टदेखि नै सुरक्षाको अवस्थाबारे आन्तरिक तथा बाह्य छलफल सुरु गरेका थियौँ,’ उहाँले भन्नुभयो ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि राजनीतिक घटनाक्रमले तीव्र मोड लिएको थियो । आन्दोलनकै क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको थियो । त्यसपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते निर्वाचनको मिति घोषणा गर्नुभएको हो ।
यी घटनाक्रमका कारण प्रारम्भमा सुरक्षा अवस्थाबारे चासो हुनु स्वाभाविक भएको भण्डारीको भनाइ छ । ‘यो विद्रोहपछिको सरकार हो, तर संविधान अझै जीवित छ,’ उहाँले भन्नुभयो–‘पुराना र नयाँ शक्तिबीच सन्तुलन कायम हुन नसके शान्तिपूर्ण निर्वाचन सम्भव हुँदैन ।’
आयोगले सम्भावित सुरक्षा चुनौती पहिचान गरी सरकारसँग पटक–पटक छलफल गरेको बताउँदै निर्वाचनका क्रममा दलका नेता, उम्मेदवार तथा मतदानमा सहभागी हुने मतदाताको सुरक्षालाई केन्द्रमा राखेर भएका छलफलले राम्रो नतिजा पनि दिएको उहाँले भनाई छ ।
सरकार र सुरक्षा निकायका प्रमुखहरूसँग भएका छलफलका आधारमा हाल मतदाताको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकाय सक्षम रहेको निष्कर्षमा आयोग पुगेको भण्डारीले बताउनु भयो ।
‘सबै पक्षबाट मूल्यांकन गर्दा अब शान्ति सुरक्षाबारे धेरै चिन्ता लिनुपर्ने अवस्था छैन,’ उहाँले भन्नुभयो–‘निर्वाचन ढुक्कसँग र शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ । यसलाई बिथोल्ने प्रयास सुरुमै परास्त भइसकेका छन् ।’