देश चलाउने अवसर पाए के गर्छ काँग्रेस ?

1.3K

देश चलाउने अवसर पाए के गर्छ काँग्रेस ?

आगामी प्रतिनिधिसभा निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए के गर्ने भन्ने स्पष्ट मार्गचित्रसहित नेपाली काँग्रेस जनतामाझ गएको छ । पार्टी सभापति गगन थापाले विगत सात वर्षदेखि तयार पार्दै आएको ‘प्रोजेक्ट गर्भमेन्ट’को आधारमा १९९ पृष्ठ लामो प्रतिज्ञापत्र सार्वजनिक गर्दै काँग्रेस नेतृत्वको सरकार कस्तो हुन्छ भन्ने विस्तृत खाका अघि सारेका हुन् ।
जनकपुरमा उपसभापति विश्वप्रकाश शर्मालगायत नेतासहित १० बुँदे आधार सार्वजनिक गरेका थापाले प्रजातन्त्र दिवसका अवसरमा देश सञ्चालनको स्पष्ट योजना सार्वजनिक गरे । आसन्न निर्वाचनपछि काँग्रेस नेतृत्वको सरकार बनेमा स्वयं थापाले सत्ताको बागडोर सम्हाल्ने छन् ।

‘कार्यान्वयन गर्नेले आफैं लेखेको’ प्रतिज्ञापत्र

काँग्रेसको इतिहासमा पहिलोपटक सभापतिले आफैं संयोजक बनेर प्रतिज्ञापत्र तयार पारेका छन् । “कार्यान्वयन गर्ने व्यक्तिले आफैं लेख्नुपर्छ,” भन्ने मान्यतासहित एक–एक बुँदामा आफू प्रत्यक्ष संलग्न भएको थापाको दाबी छ ।
पार्टीले आफूलाई “परिवर्तित काँग्रेस”का रूपमा प्रस्तुत गर्दै नवयुवाको विद्रोहलाई न नकार्ने, न त त्यसबाट राजनीतिक लाभ उठाउने ‘लाभांश राजनीति’ गर्ने स्पष्ट सन्देश दिएको छ ।

गठबन्धन अन्त्यदेखि सिद्धान्तमा अडान

निर्वाचनअघि गठबन्धन नगर्ने निर्णयलाई काँग्रेसले सैद्धान्तिक स्पष्टताको संकेतका रूपमा व्याख्या गरेको छ । “अब सत्ताका लागि सिद्धान्तसँग सम्झौता हुँदैन,” प्रतिज्ञापत्रमा उल्लेख छ ।
विगतमा संवैधानिक निकाय र राज्य संयन्त्रमा भएको दलीय भागबण्डाले सैद्धान्तिक विचलन आएको स्वीकार गर्दै अब अड्डा, अदालत, प्रहरी, प्रशासन जस्ता क्षेत्रमा अनावश्यक हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

पाँच वर्षमा भ्रष्टाचारमुक्त समाज

काँग्रेसले सरकार बनेको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने पहिलो प्रतिज्ञा गरेको छ ।
– २०४८ सालयता सार्वजनिक जीवनका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न ६ महिनाभित्र उच्चस्तरीय आयोग गठन
– ‘स्वार्थको द्वन्द्व’ सम्बन्धी कानुन एक वर्षभित्र
– संवैधानिक नियुक्तिमा दुई वर्ष ‘कुलिङ अफ’ अवधि
– फौजदारी अभियोग लागेकालाई जिम्मेवारीबाट बिदा
– प्रधानमन्त्री र मुख्यमन्त्री दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था
सरकार गठन भएको ३० दिनभित्र विस्तृत रोडम्याप सार्वजनिक गर्ने र हरेक महिनाको ‘मासिक रिपोर्ट कार्ड’ सार्वजनिक गर्ने प्रणाली संस्थागत गर्ने घोषणा गरिएको छ ।

‘फाइल होइन मोबाइल’ : डिजिटल सरकार

नागरिकले भौतिक उपस्थितिबाहेक अधिकांश सेवा २४ घण्टा डिजिटल माध्यमबाट पाउने व्यवस्था गर्ने काँग्रेसको योजना छ ।
तोकेको समयमा सेवा नदिए त्यसलाई अख्तियार दुरुपयोग सरह मान्ने र क्षतिपूर्ति दिने व्यवस्था गर्ने प्रतिबद्धता पनि गरिएको छ ।

अर्थतन्त्रमा ‘प्रो प्राइभेट, प्रो ग्रोथ’

उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्रको प्रतिवद्धता जनाउँदै कांग्रेसले
– कर दर १०–१५ वर्ष स्थिर रहने ‘स्ट्याबिलिटी क्लज’
– व्यक्तिगत आयमा पहिलो १० लाखसम्म कर नलाग्ने
– संस्थागत आयकर क्रमशः २० प्रतिशतमा झार्ने
– बजारमा सिण्डिकेट र कार्टेलिङ अन्त्य
– ‘खेतदेखि भान्सासम्म’ आपूर्ति संयन्त्र निर्माण
जस्ता नीतिहरू अघि सारेको छ ।

युवाका लागि ‘मिसन रोजगारी’

युवालाई टोकनवादमा सीमित नगरी निर्णय प्रक्रियामा सहभागी गराउने कांग्रेसको दाबी छ ।
– पाँचदेखि ५० लाखसम्म सहुलियतपूर्ण बिउँ पुँजी
– स्टार्टअपलाई कर छुट
– पाँच वर्षमा वैदेशिक रोजगारी ५० प्रतिशतले घटाउने लक्ष्य
– पढ्दै कमाउने व्यवस्था
स्थानीय तहमा ‘बेरोजगार केन्द्रित रोजगार कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरिएको छ ।

स्वास्थ्य, शिक्षा र कृषि सुधार

स्वास्थ्य बीमालाई पुनः प्रभावकारी बनाउँदै कमाउन नसक्ने नागरिकको प्रिमियम राज्यले तिर्ने व्यवस्था गर्ने योजना छ । विद्यालय शिक्षा ऐन एक वर्षभित्र पारित गर्ने र किसानलाई मागअनुसार मल उपलब्ध गराउने संरचना विकास गर्ने प्रतिबद्धता गरिएको छ । आगामी दशकलाई ‘कृषि लगानी दशक’का रूपमा अघि बढाउने पनि घोषणा गरिएको छ ।

मितव्ययी र सानो सरकार

संघमा १६ र प्रदेशमा ७ मन्त्रालयमा सीमित रहने, अनावश्यक खर्च कटौती गर्ने तथा सार्वजनिक खरिद ऐन संशोधन गरी गुणस्तरीय मूल्यांकन प्रणाली लागू गर्ने काँग्रेसको योजना छ ।

‘टीम नेपाल’को अवधारणा

प्रतिज्ञापत्र कार्यान्वयन एक व्यक्तिको बलमा सम्भव नहुने भन्दै सभापति थापाले ‘टीम नेपाल’ अवधारणा अघि सारेका छन् । तीन तहका जनप्रतिनिधि, निजी क्षेत्र र नागरिक समाजलाई समेटेर देश निर्माणमा साझा प्रयास गर्ने उनको भनाइ छ ।
काँग्रेसले प्रतिज्ञापत्रमार्फत “विदेशिएका नेपालीलाई फर्कन रहर लाग्ने र स्वदेशमै सुनौलो भविष्य देखिने” देश निर्माण गर्ने प्रतिबद्धतासहित जनतासँग मत मागेको छ ।