नेपाली काँग्रेस रुपन्देहीले पार्टीका उम्मेदवारलाई जिताउने गरी युवा विद्यार्थीमा माहौल निर्माण गर्न नेपाल विद्यार्थी संघका पूर्वसभापतिहरुलाई जिम्मेवारी प्रदान गरेको छ । आसन्न प्रतिनीधि सभा निर्वाचनका लागि पार्टीले नेपाल विद्यार्थी संघका पूर्वसभापति तथा पार्टीका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई जिल्लाका पाँटवटै निर्वाचन क्षेत्रको समन्वय गर्नेगरी जिम्मेवारी प्रदान गरेको हो ।
त्यस्तै नेविसंघका पूर्वसभापति तथा क्षेत्र नं. ३ का क्षेत्रीय सभापति सुशिल गुरुङ आफै क्षेत्र नं. ३ मा उम्मेदवार रहेका छन् । उनलाई विद्यार्थीको लिगेसीमा समेत टेकेर जित निकालनेगरी लाग्न आग्रह गरिएको छ । नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले पार्टीका उम्मेदवारलाई विजयी गराउनको लागि युवा विद्यार्थीमा भूमिका खेल्न नेविसंघका पूर्वसभापतिहरुलाई जिम्मेवारी दिईएको बताए ।
५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा नेपाली काँग्रेसबाट क्षेत्र नं. १ मा त्यसै क्षेत्रका सभापति हिराबहादुर खत्री, क्षेत्र नं. २ मा महासमिति सदस्य तथा उद्योगी व्यवसायी चुन्नप्रसाद पौडेल, क्षेत्र नं. ३ मा नेविसंघका पूर्वसभापति समेत रहेका पार्टीका क्षेत्रीय सभापति सुशिल गुरुङ, क्षेत्र नं. ४ मा नेता आशुतोष मिश्रा र क्षेत्र नं. ५ मा केन्द्रीय सदस्य भरत कुमार शाहलाई उम्मेद्वार बनाएको छ । पार्टीले अंगाडि सारेका उम्मेद्वारलाई जिताउन सक्रिय, समन्वयात्मक र परिणाममूखि भूमिका खेल्नका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वसभापतिहरु हेमराज अर्याल, हरिध्वज मल्ल, फणेन्द्र शर्मा, मोहन शर्मा, शरद भट्टराई, दीपक पौडेल, शैलेन्द्र पन्थ, प्रकाश राना, जमुना ढकाल, विष्णुप्रसाद पोखरेल र मिलन थापालाई जिम्मेवारी सहित परिपत्र गरेको हो ।
पार्टीले दिएको जिम्मेवारी अनुसार उनीहरुले उम्मेदवार तथा निर्वाचन परिचालन समितिको समन्वयमा सम्बन्धित निर्वाचन क्षेत्र, पालिका तथा वडातहमा कार्यकर्ता समन्वय, मतदाता भेटघाट, घरदैलो कार्यक्रम सञ्चालन तथा युवा परिचालन गर्नेछन् । त्यस्तै युवा विद्यार्थीलाई एकीकृत र उत्साहित गर्ने, भ्रामक समाचारको तथ्यका आधारमा प्रतिपाद गर्नेछन् ।