पाेखराबाट काठमाण्डाैं जाँदै गरेकाे यात्रुवाहक बस त्रिसुलीमा खस्दा १७ जनाको ज्यान गएकाे छ । धादिङमा आइतबार राति भएको उक्त दुर्घटनामा थप २४ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडामा पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो ।
राति करिब साढे १ बजे उक्त बस सडकबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको समयमा बसमा कम्तिमा ४६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।
दुर्घटनापछि उद्धार कार्य जारी छ । सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली घटनास्थलमा खटिएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेका छन् ।
डुंगाको सहायताले नदी किनारबाट यात्रुहरूलाई बगरमा ल्याई त्यहाँबाट एम्बुलेन्समार्फत विभिन्न अस्पताल पठाउने काम भइरहेको छ ।
सशस्त्र प्रहरी बल प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार हालसम्म १३ पुरुष र ४ महिलाको शव संकलन गरिएको छ । मृतक तथा घाइतेहरूको सनाखत भने हुन सकेको छैन ।