अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजार ६७५ भन्दा बढी उडान रद्द भएका छन् भने लाखौँ नागरिक प्रभावित भएका छन् । रेकर्ड तोड्ने हिमपातसँगै यातायात, विद्युत् र हवाई सेवामा व्यापक अवरोध आएको हो ।
रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागमा करिब ३३ इन्चसम्म हिमपात मापन गरिएको छ, जसले सन् १९७८ को कीर्तिमान तोडेको जनाइएको छ । नयूयाेर्क सिटिको सेन्टर पार्कमा १९ इन्चभन्दा बढी हिउँ जमेको छ ।
हिमआँधीका कारण पूर्वी तटका विभिन्न राज्यमा ६ लाखभन्दा बढी घरधुरी तथा व्यवसाय विद्युत् आपूर्तिबाट बञ्चित भएका छन् ।
नर्थ क्याराेलिनालेखि मैनसम्म हिमआँधीको चेतावनी जारी गरिएको थियो भने छिमेकी क्यानडाका केही क्षेत्रमा पनि सतर्कता अपनाइएको छ । अत्यावश्यक बाहेकका यात्रा प्रतिबन्ध लगाइएका छन् र सर्वसाधारणलाई घरमै बस्न आग्रह गरिएको छ ।
उडान अनुगमन गर्ने संस्थाहरुका अनुसार अधिकांश उडान प्रभावित भएका छन् । मौसम सुधार हुन केही समय लाग्ने अनुमान गरिएको छ ।