रुपन्देही जिल्ला क्षेत्र नम्बर–१ मा नेपाली काँग्रेसकाे तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हिराबहादुर खत्रीले अव्यवस्थित सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मंगलबार देवदह नगरपालिकाका विभिन्न वडामा घरदैलो तथा मतदातासँगको भेटघाटका क्रममा खत्रीले अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका भूमिहीन नागरिकलाई जग्गाधनी पुर्जा वितरण गर्नु नै आफ्नो “अर्जुनदृष्टि” भएको स्पष्ट पारे । उनले सुकुम्बासी बस्तीमा जग्गाको स्वामित्व नहुँदा ठूलो आर्थिक सम्भावना थुनिएको उल्लेख गर्दै स्वामित्व प्रदान गरेपछि त्यस क्षेत्रको अर्थतन्त्र चलायमान हुने दाबी गरे ।
“सुकुम्बासी बस्तीमा जग्गाकै कारण ठूलो पूँजी फसेको छ । पुर्जा नहुँदा नागरिक आर्थिक गतिविधिमा खुलेर सहभागी हुन सकिरहेका छैनन्,” उनले भने, “जग्गाधनी प्रमाणपत्र वितरण गरेर उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउने मेरो पहिलो प्राथमिकता हो ।”
खत्रीले आफू देवदहको तत्कालीन नगरप्रमुख हुँदा झण्डै एक हजार परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको स्मरण गर्दै बाँकी रहेका अव्यवस्थित बसोबासीलाई पनि नीतिगत व्यवस्था गरेर स्वामित्व दिलाउने प्रतिबद्धता जनाए । कानुनी जटिलता र प्रक्रियागत अवरोधहरूलाई समाधान गर्दै सहुलियत दरमा नागरिकलाई जग्गाको धनी बनाउने उनको भनाइ थियो ।
यससँगै उनले क्षेत्रलाई कृषि तथा पशुपालनको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारे । उत्पादनमुखी कृषि, व्यावसायिक पशुपालन, सिँचाइ र बजार व्यवस्थापनमार्फत स्थानीय रोजगारी सिर्जना गर्दै आयआर्जन बढाउने रणनीति रहेको उनले बताए । “जग्गाको स्वामित्व सुरक्षित भएपछि कृषिमा लगानी बढ्छ, पशुपालन विस्तार हुन्छ र गाउँमै रोजगारी सिर्जना हुन्छ,” खत्रीले उल्लेख गरे ।
निर्वाचन परिचालन संयोजक हरिप्रसाद काफ्लेका अनुसार उम्मेदवार खत्रीले घरदैलो अभियानमार्फत नागरिकका गुनासा र सुझाव संकलन गर्दै कृषि, पूर्वाधार, सुकुम्बासी व्यवस्थापन र सुशासनका विषयलाई प्राथमिकतामा राखेका छन् । क्षेत्रीय सचिव विजय गुरुङले सडक, ढल, व्यवस्थित सहर विकास र प्रभावकारी सेवा प्रवाहका विषयमा मतदाताले चासो व्यक्त गरेको जानकारी दिए ।
खत्रीले सुकुम्बासी अन्त्य र कृषि–पशुपालनमा आधारित आर्थिक रूपान्तरणमार्फत रुपन्देही–१ लाई आत्मनिर्भर र समृद्ध बनाउने आफ्नो लक्ष्य रहेको दोहोर्याए ।