यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीका सबै नाका ३ दिन बन्द गर्ने निर्णय गरिएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भारतसँग जोडिएका जिल्लाका सम्पूर्ण सीमा नाका यहि फागुन १८ गते राती १२ बजेदेखि २१ गते राती १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेकाे हाे ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचनकाे समय फागुन २० गते राति १२ बजेदेखि २१ गते मतदान कार्य सम्पन्न नहुदासम्म एम्बुलेन्स, दुधका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा निषेध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ पाध्याले जारी गरेको सूचनामा सीमा क्षेत्र र जिल्लाभित्र शान्ति–सुरक्षा सुदृढ पार्न उक्त निर्णय गरिएको उल्लेख छ । प्रशासनले सर्वसाधारण नागरिकलाई सूचनाको पालना गर्न तथा निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ ।