विपन्न परिवारलाई अध्यक्ष कुँवरद्वारा आर्थिक सहयोग

1.3K

विपन्न परिवारलाई अध्यक्ष कुँवरद्वारा आर्थिक सहयोग


गुल्मीको मदाने गाउँपालिका-६ पुर्कोटदहकी अति विपन्न तथा भूमिहीन सुकुम्बासी ८२ वर्षीया स्वर्गीय नेप्टी चुदाराको काजकिरियाका लागि गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले आर्थिक सहयोग प्रदान गरेका छन् ।
नेप्टीको निधन भएको पाँचौँ दिन सोमबार अध्यक्ष कुँवरले घरमै पुगेर शोकसन्तप्त परिवारलाई १० हजार रुपैयाँ सहयोग गरेका हुन् । उक्त रकम उनले गाउँपालिकाबाट आफूलाई प्राप्त हुने आर्थिक सुविधामध्येबाट प्रदान गरेका हुन् । स्वर्गीय नेप्टीकाे श्रीमान यसे चुदाराकाे यश अघि नै निधन भईसकेकाे छ ।
सो अवसरमा अध्यक्ष कुँवरले परिवारप्रति समवेदना व्यक्त गर्दै दुःखको घडीमा थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए । कार्यक्रममा मदाने-६ का पूर्व वडा सदस्य चक्रबहादुर जिसीले पनि परिवारप्रति समवेदना व्यक्त गर्दै २ हजार रुपैयाँ नगद सहयोग गरेका थिए ।
स्थानीयवासीले विपन्न र दुःखमा परेका परिवारलाई सहयोग गर्दै जनप्रतिनिधिले देखाएको मानवीय संवेदना सकारात्मक र अनुकरणीय कार्य भएको बताएका छन् ।
नेपाली काँग्रेस मदानेका सभापति समेत रहेका अध्यक्ष कुँवरले पालिकाको अध्यक्ष भएपछि आफूले पाउने सुविधा रकम पार्टीको खातामा जम्मा गर्ने व्यवस्था मिलाएका छन् । उक्त रकम पार्टी समितिको निर्णय अनुसार गरिब तथा विपन्न परिवारलाई राहत, स्वास्थ्य र शिक्षाका क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए ।