प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिक तर्फको सम्पूर्ण मतगणना सम्पन्न भएको छ ।
मतपरिणाम अनुसार प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ ५१ लाख ३९ हजार २३५ मत प्राप्त गरेको छ । यस आधारमा रास्वपाले समानुपातिकबाट थप ५७ सिट पाउने देखिएको छ ।
त्यस्तै प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा १७ लाख ४९ हजार ५८३ मत प्राप्त गरेको छ । यसअनुसार कांग्रेसले समानुपातिकबाट करिब २० सिट थप्ने सम्भावना देखिएको छ ।
प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमालेले समानुपातिकतर्फ १४ लाख ५१ हजार ७५९ मत प्राप्त गरेको छ । एमालेले समानुपातिकबाट थप १६ सिट पाउने देखिन्छ।
यसैगरी प्रत्यक्षतर्फ ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ८ लाख ९ हजार ७१ मत प्राप्त गर्दै थप ९ सिट पाउने भएको छ ।
चार महिना अघि मात्रै गठन भएको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ भने समानुपातिकमा ३ लाख ८५ हजार ६८२ मत प्राप्त गर्दै थप ४ सिट पाउन सक्छ।
प्रत्यक्षतर्फ १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ ३ लाख ३० हजार ८२ मत प्राप्त गरेको छ । यस आधारमा राप्रपाले करिब ४ सिट पाउने सम्भावना छ ।
निर्वाचन आयोगका सूचना अधिकारी घिमिरेका अनुसार अब दलहरूले प्राप्त गरेको सदर मतको आधारमा सिट बाँडफाँटको प्रक्रिया अगाडि बढाइनेछ ।
सिट निर्धारण भएपछि आयोगले सम्बन्धित दलहरूलाई तीन दिनभित्र बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट नाम सिफारिस गर्न पत्र पठाउनेछ । दलहरूले पठाएको सिफारिसलाई आयोगले पुनः परीक्षण गरी अन्तिम प्रक्रिया पूरा गरेपछि समानुपातिकतर्फका ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ ।