पछिल्ला केही दिनयता देशका विभिन्न स्थानमा देखिएको तुवाँलो तथा वायुप्रदूषणको अवस्था केही दिनभित्र सुधार हुने संकेत देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको वायुमण्डलमा उच्च चापीय प्रणाली कायम रहेकाले पर्याप्त वर्षा हुन नसक्दा तल्लो वायुमण्डलमा प्रदूषणका कणहरू जमेर तुवाँलोको अवस्था देखिएको हो ।
महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनमा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नहुँदा तथा वायुमण्डलीय चलायमानता कम हुँदा देशका धेरै भू-भागमा तुवाँलोको प्रभाव बढेको उल्लेख गरिएको छ ।
तर आगामी केही दिनमा वायुमण्डलीय गतिविधि बढ्ने संकेत देखिएकाले देशका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । हल्का वर्षासँगै हावाको चलायमानता बढेमा हाल देखिएको प्रदूषित वायुमण्डलमा क्रमिक रूपमा सुधार आउने अपेक्षा गरिएको छ ।
तुवाँलोका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।