बुटवल र सैनामैनामा ‘आमा तथा नवजात शिशुका लागि स्वच्छ हावा’ कार्यक्रम

1.3K

बुटवल र सैनामैनामा ‘आमा तथा नवजात शिशुका लागि स्वच्छ हावा’ कार्यक्रम

रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकामा ‘आमा तथा नवजात शिशुका लागि स्वच्छ हावा’ कार्यक्रम सुरु भएको छ । यी दुई नगरपालिकामा स्वास्थ्य प्रणाली सुदृढीकरण, घरायसी व्यवहार परिवर्तन तथा स्वच्छ हावा प्रवद्र्धन गर्ने उद्देश्यले सेतो गुराश वालविकास केन्द्रले विशेष कार्यक्रम सुरु गरेको हो ।
बेलायत सरकरको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफ.सि.डि.ओ.) अन्तरगत ‘ब्रेथ इनीसिएटिभ एन्ड इनोभेसन’ परियोजनाको सहयोगमा सञ्चालन हुने यो कार्यक्रम सेप्टेम्बर २०२६ सम्म रहने प्रोजेक्ट कोर्डिनेटर निरञ्जन पोखरेलले जानकारी गराए । उनका अनुसार समग्रमा स्वास्थ्य प्रणाली सुदृढीकरण, व्यवहार परिवर्तन तथा नीतिगत सुधारलाई एकीकृत रूपमा अघि बढाउँदै बुटवल र सैनामैनाका बासिन्दालाई स्वच्छ वातावरण र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिईएको छ ।
कार्यक्रममार्फत स्थानीय तहमा स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउने, घरपरिवारको व्यवहारमा सुधार ल्याउने तथा वायु प्रदूषण न्यूनीकरणका लागि नीतिगत तथा संस्थागत पहललाई एकीकृत रूपमा कार्यान्वयन गरिने पनि उनले बताए ।
कार्यक्रम मार्फत स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा तथा अनुगमन प्रणाली सुदृढ गर्ने, गर्भवती महिला र नवजात शिशुका लागि सुरक्षित तथा स्वच्छ वातावरण सुनिश्चित गर्न स्वास्थ्य संस्थाहरूलाई सशक्त बनाइने सेतो गुराश बाल विकास केन्द्रकी कार्यकारी निर्देशक सुमित्रा शर्माले बताईन् । त्यसैगरी घरायसी तथा सामुदायिक स्तरमा स्वच्छ चुलो प्रविधिको प्रयोग विस्तार गरिनेछ । स्वच्छ चुलोको प्रयोगले घरभित्र हुने धुवाँजन्य प्रदूषण घटाई वायु गुणस्तर सुधार गर्न सहयोग पुग्ने पनि उनले बताईन् ।
बुटवल उपमहानगरपालिकाले गरेको अध्ययनले पनि नगरपालिका वडा नं. १६, १७, १८ र १९ मा वायु प्रदुषणको जोखिम बढी छ । बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले वायु प्रदुषणका हिसावले यी ४ वटा वडाका गृहणी तथा बालकालिका बायु प्रदुषणको बढी जोखिममा छन् ।
बुटवल र सैनामैनामा आमा तथा नवजात शिशुका लागि स्वच्छ हावा कार्यक्रम सुरु गरेको सेतो गुराँश वाल विकास केन्द्रले बिहिबार जनप्रतिनीधिहरुका लागि कार्यशाला गरेको थियो । उक्त कार्यशालामा रुपन्देहीको वायु प्रदुषणको तह काठमाण्डौमा भन्दा पनि उच्च रहेको विज्ञहरुले बताएका छन् । ‘वातावरण प्रदुषणको समस्या कुनै एक स्थानको मात्रै होईन, धेरै थोरै मात्रै हो ।’ वातावरण इञ्जिनियर भुषण दाहालका अनुसार विश्वका ९९ प्रतिशत मानिस विश्व स्वास्थ्य संगठनले तय गरेको भन्दा पनि धेरै बढी प्रदुशित ठाउँमा बस्न बाध्य छन् । उनका अनुसार वायु प्रदुषण मापन गर्ने यन्त्रको अभावका कारण प्रदुषणको मात्रा कति भन्ने यकिन गर्न कठिन छ ।
मानिसको जीउधनको हिसावले वायु प्रदुषणले निम्त्याएको समस्या द्वन्द्व, भूकम्प, कोरोना महामारी भन्दा पनि ठूलो रहेको उनले बताए । उनका अनुसार नेपालमा वर्षेनी ४८ हजार ५ सय जनाको वायु प्रदुषणका कारण मृत्यु भईरहेको छ ।
घरभित्र दाउरा तथा गुईठाको प्रयोगबाट उत्पन्न हुने धुवा, उद्योग तथा कलकारखाना, ईन्धनबाट चल्ने सवारी साधनले उत्सर्जन गर्ने धुवाँ, फोहोरमैला जलाउँदा उत्पन्न हुने धुवाँ, डडेलो तथा धुवाँ धुलोका कारण वायु प्रदुषण बढी रहेको छ । पछिल्लो समयमा बायु मण्डलमा बायु प्रदुषण बढीरहेको छ भने वर्षा नहुँदा प्रदुषणको तह उच्च विन्दुमा पुगेको छ ।
‘स्वच्छ हावा पाउनुपर्ने मानिसको नैसर्गिक अधिकार हो । स्वच्छ हावा पाउनु पर्ने अधिकार नेपालको संविधानमा पनि नागरिक अधिकारको रुपमा सुरक्षित गरिएको छ । तर नेपालमा वायु प्रदुषणको जोखिम उच्च छ, स्थिती भयावह,’–आमा तथा नवजात शिशुहरुको लागि स्वच्छ हावा कार्यक्रमका प्रजेक्ट कोर्डिनेटर निरञ्जन पोखरेलले भने ।
उनका अनुसार यो प्रोजेक्ट मार्फत स्वास्थ्यकर्मीलाई प्रशिक्षण तथा तालिम प्रदान गरिनेछ भने स्वास्थ्य संस्थाको सेवामा सुधार गरिने छ । घरघरमा सचेटना कार्यक्रम सञ्चालन गरिनेछ, उनीहरुलाई वायुप्रदुषणले पार्ने प्रभाव तथा त्यसबाट बँच्ने उपायहरुको बारेमा जानकारी गराईने छ । त्यस्तै नीतिगत सुधार, योजना निर्माण र सुशासनका लागि पहल गरिने छ ।
त्यस अवसरमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका बसन्त भट्टराईले उर्जा, वातावरण र मानव स्वास्थ्य विचको अन्तरसम्बन्धका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. १७ का अध्यक्ष ज्ञानप्रसाद रेश्मीले वायु प्रदुषणको तह उच्च भईरहेका बेला परियोजना हुनु महिला तथा बालबालिकाका लागि मात्रै नभएर आम नागरिकका लागि उपयोगी हुने बताउँदै कार्यक्रममा स्थानीय जनप्रतिनीधिको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।