नेपाली काँग्रेसले क्रियाशील सदस्यता अद्यावधिक तथा विस्तारका लागि देशभर ‘एक महिने जरामा जाऊँ अभियान’ सुरु गरेको छ । काठमाडौं महानगरपालिका-३० स्थित वडा इकाई कार्यालयमा सभापति गगनकुमार थापाले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरेसँगै अभियान औपचारिक रूपमा प्रारम्भ भएको हो ।
अभियानलाई प्रभावकारी बनाउन काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। उनीहरूलाई स्थानीय तहमा प्रत्यक्ष रूपमा खटिएर तोकिएको कार्यक्षेत्रमा बसेर सदस्यता विस्तार तथा व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
पार्टीले पारित गरेको निर्देशिकाअनुसार सञ्चालन हुने अभियानमार्फत डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य बनाउने, वडास्तरमै क्रियाशील सदस्यता अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने तथा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने लक्ष्य लिइएको छ ।
यसैगरी, पुराना सदस्यहरूको अद्यावधिकका लागि फारम भर्ने र फोटो खिचाउने प्रावधान लागू गरिनेछ । सबै सदस्यहरूको व्यक्तिगत विवरण संकलनलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था गरिएको काँग्रेसले जनाएको छ ।
नयाँ सदस्यता वितरण प्रक्रियालाई पनि डिजिटल माध्यमबाट सहज बनाइने तयारी गरिएको छ । पार्टी विधानअनुसार सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै नयाँ सदस्य बन्ने प्रक्रियालाई सरल बनाइने जनाइएको छ ।
अभियानअन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक गर्दा ‘ओटीपी’ नम्बर अनिवार्य रूपमा लिनुका साथै सदस्यको फोटो खिचाउनुपर्ने व्यवस्था गरिएको छ ।