विवादित गृहमन्त्री गुरुङको विषयमा रास्वपा मौन

1.3K

विवादित गृहमन्त्री गुरुङको विषयमा रास्वपा मौन

गृहमन्त्री सुधन गुरुङमाथि विभिन्न प्रश्न उठिरहे पनि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने यस विषयमा मौन देखिएको छ । सार्वजनिक रूपमा विवाद चर्किँदै जाँदा समेत पार्टीले न त आधिकारिक धारणा सार्वजनिक गरेको छ, न त आन्तरिक रूपमा गम्भीर छलफल अघि बढाएको छ ।
गृहमन्त्री गुरुङले दुईवटा माइक्रो इन्सुरेन्स कम्पनीमा खरिद गरेको शेयर सम्पत्ति विवरणमा नदेखाएको विषय बाहिरिएसँगै उनको सम्पत्ति स्रोत र विवादित व्यक्तिसँगको सम्बन्धबारे प्रश्न उठेका छन् । उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिने प्रयास गरे पनि पार्टी तहबाट भने यस विषयमा कुनै ठोस प्रतिक्रिया आएको छैन । सामाजिक सञ्जालमा आफैले दिएका स्पष्टीकरण पनि आपसमा बाझिएका छन् ।
यो प्रकरण सार्वजनिक भएपछि गृहमन्त्री गुरुङले पार्टी सभापति रवि लामिछानेलाई भेटेको चर्चा भए पनि त्यसबारे रास्वपाले आधिकारिक जानकारी दिएको छैन । सोमबार बसेको केन्द्रीय समिति बैठकमा पनि यो विषय एजेण्डामै समावेश भएन । बरु बैठकले संगठनात्मक विषयमा केन्द्रित हुँदै महामन्त्रीमा भुपदेव शाहलाई मनोनयन गर्ने, सचिवालय, संघीय नेतृत्व मञ्च तथा सल्लाहकार परिषद्मा सदस्य थप्ने निर्णय ग¥यो । मन्त्री, सांसद तथा स्वकीय सचिवका लागि तोकिएको लेबीसम्बन्धी व्यवस्था पनि संशोधनसहित पारित गरिएको छ ।
गृहमन्त्री गुरुङमाथि चौतर्फी प्रश्न उठिरहेका बेला पनि बैठकमा यस विषयले प्रवेश नै नपाउनु अर्थपूर्ण रूपमा हेरिएको छ । बैठकअघि र पछि पत्रकारहरूले नेताहरूसँग धारणा माग्दा उनीहरू बोल्न चाहेनन् ।
रास्वपाले चुनाव अंगाडि गरेको सुशासनको बाचा र विवादित गृहमन्त्रीका विषयमा भएको मौनताले प्रश्न थपिएको छ । यसअघि सामान्य विवादमै श्रममन्त्री दीपककुमार साहलाई पदबाट हटाइएको उदाहरणलाई पनि यस सन्दर्भमा जोडेर हेरिएको छ । साहमाथि स्वास्थ्य बीमा बोर्डमा आफ्नै श्रीमतीलाई नियुक्त गराएको आरोप लागेपछि उनलाई द्रुतगतिमा हटाइएको थियो, जबकि उनले पर्याप्त स्पष्टीकरणको अवसर पाएनन् ।
तर गृहमन्त्री गुरुङको हकमा भने पार्टीले न अनुशासन समितिमार्फत स्पष्टीकरण सोधेको छ, न औपचारिक छानबिन प्रक्रिया अघि बढाएको देखिन्छ । अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले समेत हालसम्म यस विषयमा कुनै प्रक्रिया अघि नबढेको बताएका छन् ।