बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

1.3K

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो ।
उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले बायु प्रदुषण त गरिरहेको छ नै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव परिरहेको छ । यसैलाई मध्येनजर गरेर विशेष गरी नवउद्यमीकालागि उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष (वाणिज्य उपाध्यक्ष) विमलराज भट्टराईले उद्योग व्यवसायमा हुने साना साना कुराको सुधारले पनि कार्वन उत्सर्जन न्यूनिकरण गर्न सकिने बताए । उनले उद्योग व्यवसायमा हुने साना साना कुराको सुधारले उत्पादन लागतलाई समेत घटाउन मद्धत गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा ‘क्रिएटिभ ग्रीन इकानोमी’ अवधारणाअन्तर्गत हस्तकला उत्पादनमा वातावरणमैत्री अभ्यास अपनाउने, कार्बन उत्सर्जन घटाउने र स्थानीय स्रोतको प्रयोग बढाउने विषयमा स्टोरी साईकलका सौरभ ढकालले जानकारी गराएका थिए । जलवायु परिवर्तनसँग सम्बन्धित नेपाली हस्तकलाको दिगोपन प्रवद्र्धन गर्नका लागि पनि कार्वन उत्सर्जन न्यूनिकरण उपयोगी हुने साना हस्तकलाकी उसा पनले बताईन् ।
कार्यक्रममा ‘लाइफ साइकल असेस्मेन्ट’ मार्फत उत्पादनदेखि प्रयोग र पुनःप्रयोगसम्मको कार्बन प्रभाव मापन गर्ने तरिकाबारे प्रशिक्षण दिइएको थियो । साथै, मानिस, पृथ्वी, नाफा, उद्देश्य र स्थानको अवधारणालाई आत्मसात गर्दै दिगो उत्पादन र बजार विस्तारमा जोड दिइएको बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले बताए ।
स्टोरी साईकलका निश्चल वली र साना हस्तकलाकी रोजिना थापाका अनुसार यसबाट नेपाली हस्तकला अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्ने, कार्बन क्रेडिटबाट आम्दानी गर्न सकिने जस्ता लाभ लिन सकनेछ । साना हस्तकलाको कार्वन म्यापिङको उदाहरण प्रस्तुत गर्दै समुहगत रुपमा हस्तकला, खाद्यबस्तु, धातुजन्य बस्तु, पर्यटन लगायतका व्यवसायमा कार्वन म्यापिङ गरिएको थियो ।