मौसमविदहरूले आजदेखि आगामी दुई दिनसम्म देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । विशेषगरी जोखिमयुक्त सडकहरूमा रातिको समयमा यात्रा नगर्न सुझाव दिइएको छ ।
मौसम पूर्वानुमानअनुसार आज रातिबाट वर्षाको मात्रा र क्षेत्र विस्तार हुँदै जानेछ । वैशाख १५ गतेको तुलनामा १६ गते वर्षा अझ बढ्ने सम्भावना रहेको छ । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा आज बेलुका र राति ठूलो वर्षा हुनसक्ने अनुमान छ ।
मौसमविदका अनुसार हाल सक्रिय प्रणालीका कारण काठमाडौं उपत्यका, आसपासका भूभाग र पूर्वी क्षेत्रका अधिकांश स्थानमा वर्षा हुने देखिन्छ । भोलि बुधबार र पर्सि बिहीबारसम्म पूर्वी मेची क्षेत्रदेखि पश्चिम त्रिशूली–कालिगण्डकी क्षेत्रसम्म समय–समयमा वर्षा जारी रहने सम्भावना छ ।
मेचीदेखि कर्णालीसम्मका केही स्थानमा एक–दुई घण्टासम्म अत्यधिक वर्षा हुनसक्छ, जसले साना खोलाखोल्सीमा आकस्मिक बाढी, पहाडी क्षेत्रमा पहिरो र सडक अवरोधको जोखिम बढाउन सक्छ । पानी निकास कमजोर भएका स्थानमा डुबानको खतरा पनि रहेको छ । वर्षाले उत्पन्न गर्नसक्ने जोखिमका कारण त्रिभुवन, पृथ्वी, सिद्धार्थ, पासाङल्हामु तथा बीपी राजमार्गमा मंगलबारदेखि बिहीबारसम्म रातिको समयमा सकेसम्म यात्रा नगर्न मौसमविदहरूको सुझाव छ ।
मौसम प्रणाली भारतको उत्तराखण्डतर्फ र हिमाञ्चल प्रदेशतर्फ सक्रिय प्रि–मनसुन प्रणाली नेपाल प्रवेश गरी आपसमा मिसिँदा प्रभाव बलियो बनेको मौसमविदहरूको भनाइ छ । स्थानीय प्रणाली समेत थपिँदा केही स्थानमा भारी वर्षाको जोखिम बढेको हो । जल तथा मौसम विज्ञान विभागले वैशाख १५ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका लागि तथा वैशाख १६ गते सबै सातै प्रदेशका लागि पहेँलो संकेत जारी गर्दै सतर्क रहन आग्रह गरेको छ ।
विभागका अनुसार यी दुई दिन विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । हिमाली क्षेत्रमा पनि मध्यम वर्षा वा हिमपात हुनसक्ने भएकाले सावधानी अपनाउन भनिएको छ ।
वैशाख १६ गते कोशी र मधेशका केही स्थान तथा बागमती र गण्डकीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । अन्य प्रदेशहरूमा पनि आंशिकदेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । मौसमविदहरूले आवश्यक काममा निस्किँदा मौसमसम्बन्धी अद्यावधिक जानकारी लिन र सम्भावित जोखिमबाट जोगिन सचेत रहन आग्रह गरेका छन् ।