राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेकाे छ । सोमबार साँझ सार्वजनिक नतिजाअनुसार कुल सहभागीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यो दर गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो । २०८१ सालमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।
यस वर्ष परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थी मध्ये सबैभन्दा धेरै ४८ हजार ३९२ जनाले ३.६० देखि ४.०० सम्मको जीपीए प्राप्त गरेका छन् । यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ८० हजार ३७२, २.८० देखि ३.२० ल्याउने ९४ हजार २२२ तथा २.४० देखि २.८० जीपीए ल्याउने ५५ हजार ९७७ रहेका छन् ।
त्यसैगरी, २.०० देखि २.४० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ५ हजार १९० रहेको छ भने १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थी संख्या केवल ७ जना रहेको बोर्डले जनाएको छ ।
प्रदेशगत रूपमा सबैभन्दा धेरै ग्रेडेड विद्यार्थी बागमती प्रदेश मा ७७ हजार ११३ रहेका छन् । कोशी प्रदेश मा ५० हजार ८९०, मधेश प्रदेश मा ४४ हजार ५९२, लुम्बिनी प्रदेश मा ४४ हजार २५६, गण्डकी प्रदेश मा २६ हजार ५५०, कर्णाली प्रदेश मा १९ हजार ९५ तथा सुदूरपश्चिम प्रदेश मा २१ हजार ६६४ विद्यार्थी ग्रेडेड भएका छन् ।
बोर्डका अनुसार नतिजा सुधार हुनुमा विद्यार्थी र शिक्षकको मेहनत मुख्य कारण हो । विद्यालयहरूले अतिरिक्त कक्षा सञ्चालन गर्नु, परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुनु तथा प्रश्नपत्रको मोडेल पहिल्यै उपलब्ध गराउने अभ्यासका कारण नतिजामा सुधार आएको विश्लेषकहरु बताउँछन् ।
यस वर्ष १ लाख ४६ हजार ५०७ विद्यार्थी नन-ग्रेडेड भएका छन् । सबैभन्दा धेरै नन-ग्रेडेड विद्यार्थी मधेश प्रदेशमा रहेका छन् । त्यहाँ ७६ हजार ३१७ सहभागीमध्ये ३१ हजार ७२५ विद्यार्थी नन-ग्रेडेड भएका हुन् । यस्तै, लुम्बिनी प्रदेशमा २७ हजार ८९३, कोशी प्रदेशमा २१ हजार ३६६, बागमती प्रदेशमा २१ हजार ७०४, गण्डकी प्रदेशमा ९ हजार ९४३, कर्णाली प्रदेशमा १३ हजार २४१ तथा सुदूरपश्चिम प्रदेशमा २० हजार ६३५ विद्यार्थी नन-ग्रेडेड भएका छन् ।
नतिजामा चित्त नबुझेका विद्यार्थीलाई बोर्डले त्रुटि भेटिए सच्याइने जनाउँदै पुनर्योगका लागि जेठ १ गतेदेखि ७ गतेसम्म आवेदन दिन समय दिएको छ ।