इन्टलेक्च्युअलमा ‘हामी बस्ने शहरको कथा’ : इतिहासको ऐनामा बुटवल

1.3K

इन्टलेक्च्युअलमा ‘हामी बस्ने शहरको कथा’ : इतिहासको ऐनामा बुटवल

आफ्नै शहरको इतिहास, संस्कृति र पहिचानबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यसहित इन्टलेक्च्युअल एकेडेमीले ‘हामी बस्ने शहरको कथा’ शैक्षिक कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत बुधबार पहिलो शृङ्खला सम्पन्न भएको हो ।
पहिलो शृङ्खलामा अध्येता तथा वरिष्ठ साहित्यकार देवेन्द्रराज शाक्यले बुटवलको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक बनावट र व्यापारिक महत्वबारे प्रस्तुति राखे । उनले जितगढी युद्धको ऐतिहासिक महत्व, बुटवलको पुरानो व्यापारिक परम्परा तथा सामाजिक संरचनाबारे चर्चा गर्दै नुन, कपडा, अन्न र जडीबुटीको व्यापारिक केन्द्रका रूपमा बुटवलले खेलेको भूमिकालाई प्रकाश पारे । बुटवल नामाकरणसँग जोडिएका रोचक प्रसङ्गले विद्यार्थीहरूको ध्यान आकर्षित गरेको थियो ।
कार्यक्रममा शाक्यले इतिहास केवल विगतको विवरण मात्र नभई भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै नयाँ पुस्तालाई आफ्नो शहरको इतिहास अध्ययन, संरक्षण र प्रवर्द्धन गर्न आग्रह गरे ।

इन्टलेक्च्युअल एकेडेमीका प्रबन्ध निर्देशक रामराज पोख्रेलले कार्यक्रम स्थान-आधारित शिक्षण र कथा-केन्द्रित अध्यापनको अभ्यासका रूपमा सञ्चालन गरिएको बताए । उनका अनुसार पाठ्यपुस्तकबाहिरका ज्ञान, इतिहास र अनुभवलाई विद्यार्थीमाझ पुर्‍याउने उद्देश्यले कार्यक्रमको अवधारणा तयार गरिएको हो ।
शिक्षक सुभास भण्डारीले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीले बुटवललाई नयाँ दृष्टिकोणबाट बुझ्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिएका छन् । कक्षा ९ का विद्यार्थी रोनित ज्ञवालीले बुटवलको इतिहासबारे आफूलाई धेरै जानकारी नभएको बताउँदै कार्यक्रमपछि आफ्नो शहरप्रति थप माया र सम्मान बढेको बताए । त्यसैगरी कक्षा १० की छात्रा श्रेया गैरेले जितगढी युद्धको वीरगाथाले आफूलाई विशेष रूपमा प्रभावित बनाएको बताइन् ।
विद्यालय प्रशासनका अनुसार आगामी शृङ्खलामा ‘बुटवल : पश्चिम नेपालको व्यापारिक केन्द्र किन र कसरी ?’ तथा ‘बाजेको पालादेखि जेन-जेडसम्मको समृद्धि’ विषयमा प्रस्तुति गरिनेछ ।