बाणगंगामा नियोनकाे निःशुल्क स्वास्थ्य शिविर : ४५० बढी लाभान्वित

1.3K

बाणगंगामा नियोनकाे निःशुल्क स्वास्थ्य शिविर : ४५० बढी लाभान्वित

स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुटवलस्थित नियोन मल्टीस्पेसियलिटी सेन्टर प्रालिले कपिलबस्तुकाे बाणगंगामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बाणगंगा नगरपालिका–६ र खैरेनीचौर सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा तथा नियोन मल्टीस्पेसियलिटी सेन्टर प्रालिको सहयोगमा शनिबार वडा नं. ६ खुटेनीमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य परीक्षण तथा उपचार शिविर सम्पन्न भएको हो ।
खैरेनीचौर सामुदायिक वन उपभोक्ता समूहको कार्यालय परिसरमा आयोजित शिविरबाट ४५० भन्दा बढी स्थानीय नागरिक लाभान्वित भएका छन् । शिविरमा स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण, मधुमेह (सुगर) परीक्षण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको नियोन मल्टीस्पेसियलिटी सेन्टरका सञ्चालक दीपु केसीले जानकारी दिए ।
संस्थाका सञ्चालक महेश पौडेलले सामाजिक उत्तरदायित्व वहन गर्दै समुदायमा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए । शिविरमा जनरल फिजिसियन, नाक–कान–घाँटी (ईएनटी), हाडजोर्नी तथा नसारोग, मानसिक स्वास्थ्य, मुटुरोग तथा ईसीजी परीक्षण, छाला रोग, स्त्री तथा प्रसूति रोग, भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) लगायतका विशेषज्ञ सेवाहरू उपलब्ध गराइएको थियो । साथै महिलाहरूका लागि पाठेघरसम्बन्धी परीक्षण तथा स्क्रिनिङ सेवा पनि प्रदान गरिएको थियो ।
बाणगंगा नगरपालिका–६ का वडाध्यक्ष करुण टन्डनले नागरिकलाई आफ्नै स्वास्थ्यप्रति जिम्मेवार र सचेत बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । नगरपालिकाका शाखा प्रमुख ठगराज पौडेलले निजी स्वास्थ्य संस्थाहरूले स्थानीय तहसँग समन्वय गरी सञ्चालन गर्ने निःशुल्क शिविरले नागरिकका लुकेका स्वास्थ्य समस्याको पहिचान र समयमै उपचारमा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गरे ।
खैरेनीचौर सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष मञ्जु महत्राले रोगको प्रारम्भिक अवस्थामै पहिचान र उपचारको महत्वबारे जनचेतना फैलाउन शिविर आयोजना गरिएको बताइन् ।
नियोन मल्टीस्पेसियलिटी सेन्टरका अर्का सञ्चालक भानु पोख्रेलका अनुसार शिविरमा विशेषगरी महिलामा पाठेघरसम्बन्धी समस्या, हाडजोर्नी तथा नसारोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीहरूको संख्या उल्लेख्य देखिएको थियो ।
शिविरमा जनरल सर्जन डा. नवीन श्रेष्ठ, जनरल फिजिसियन डा. प्रकाश भट्टराई, ईएनटी विशेषज्ञ डा. सन्तोष बस्नेत, मानसिक तथा नसारोग विशेषज्ञ डा. सजिता पौडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विपिन जैसवाल, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. हिरामणि पौडेल, रेडियोलोजिस्ट डा. विकास शर्मा तथा मेडिकल अफिसरहरू डा. श्रीराम पन्थी र डा. गोकुल पौडेलसहित २० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
बुटवलमा स्थापित नियोन मल्टीस्पेसियलिटी सेन्टरले छोटो अवधिमै स्वास्थ्य सेवाको क्षेत्रमा विश्वास जित्दै आएको छ । संस्थाले नियमित रूपमा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै समुदायमा स्वास्थ्य सेवा विस्तार गरिरहेको जनाएको छ ।