प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक : सभापति गगन

1.3K

प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक : सभापति गगन

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति घोर आपक्तिजनक र निन्दनीय रेको बताउँदै माफी माग्न आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले आईतबार संसदको रोष्टमबाट नेपाली भूमि भारतले मात्रै नभएर भारतीय भूमि नेपालले पनि मिचेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री शाहको उक्त अभिव्यक्ति आपत्तिजनक र निन्दनीय रहेको बताउँदै सभापति थापाले संसदमा गएर माफी माग आग्रह गरेका हुन् ।
नेपाली काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरिय २ दिने परामर्श कार्यशालाको उद्घाटन गर्दै सभापति थापाले भने–‘हिजो प्रधानमन्त्रीले एउटा कुरा बोल्नुभयो, नेपालको सार्वभौमिकता,  नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको यस्तो संवेदनशील विषयमा सम्माननीय प्रधानमन्त्री ज्युले राखेको विषय निन्दनीय छ । घोर आपत्तिजनक छ ।’
उनले सीमा विवादजस्तो संवेदनशील विषयमा दिएको अभिव्यक्तिले देशको गरिमा र प्रतिष्ठालाई लत्याएको र राष्ट्रियतालाई कमजोर बनाएको बताए । सीमासम्बन्धि विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा गैरजिम्मेवार अभिव्यक्ति दिने कुरा प्रधानमन्त्रीको गरिमा समेत घटाएको उनको भनाई छ ।
सभापति थापाले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै उक्त प्रतिवेदन कार्यान्वयनमा आउँदा धेरै प्रतिनिधी सभा सदस्यहरु र उच्च पदस्थ कर्मचारी समेत कारवाही पर्ने बताए । उनले तेरो मेरा, साना ठूलो केही नभनी कारवाही गर्न पनि आग्रह गरे ।
संसद नियमावली पारित गर्ने क्रममा बलमिच्याई गरिएको बताउँदै उनले संसदमा संख्याको दम्भ नदेखाउन आग्रह गरे । सभापति थापाले २०६४ सालमा माओवादीको पाएको जनमत र उसको अहिलेको अवस्थालाई देखाउँदै जनमत पाउन भन्दा पनि त्यसलाई कायम राख्नु ठूलो कुरा भएको उल्लेख गरे ।
उनले एउटा चुनाव जित्ने हार्ने सामान्य कुरा रहेको बताउँदै प्राप्त जनमतलाई अवसरको रुपमा लिएर काम गर्नुपर्ने बताए । उनले पार्टीलाई एकता र गोलवन्ध बनाएर अगाडि बढाउने काममा आफू लागिरहेको बताउँदै त्यसमा साथ दिन आग्रह गरे ।
कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले पार्टीलाई सुदृढ बनाउन आवश्यक रहेको बताउँदै सबैले सबैलाई विश्वास गर्ने बातावरण बनाउन आवश्यक रहेको बताए । उनले एक अर्कामा अविश्वास मेटाउनु पर्ने र अन्तै भोट हाल्ने काँग्रेसलाई क्रियाशिल बनाईरहन आवश्यक नरहेको भनाई राखे । उनले त्यसका लागि पनि क्रियाशिल सदस्यता अध्यावधिक गर्न आवश्यक रहेको बताए । उनले पनि आईतबार संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले देशको राष्ट्रियतामा खलल पुयाएको बताउँदै आपत्ति व्यक्त गरे ।
प्रदेश उपसभापति तथा प्रशिक्षण विभागका संयोजक भुवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका महामन्त्री गुरु घिमिरे, सहमहामन्त्री गोविन्द चौधरी, पार्टीका केन्द्रीय सदस्य तथा प्रतिष्ठानका उपसभापति मधु आचार्य, प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका पुर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मी पाण्डे, नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण लगायतले भनाई राखेका थिए ।