जल तथा मौसम विज्ञान विभागले मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आगामी तीन दिनसम्म मध्यम तातो लहरको सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विहिबार अपरान्ह बुलेटिन जारी गरेर यस्तो चेतावनी दिएको हो ।
महाशाखाका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा १४ जेठदेखि नै अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि मापन भइरहेको छ । लुम्बिनी प्रदेशका एक–दुई स्थानमा तापक्रम ३९ डिग्री सेल्सियसभन्दा माथि पुगेको उल्लेख गरिएको छ ।
हालको तापक्रमको प्रवृत्तिको विश्लेषण गर्दा आगामी तीन दिनसम्म पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अत्यधिक गर्मी कायम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेषगरी मधेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तातो लहर चल्ने जोखिम देखिएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
महाशाखाले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (पश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीलाई ‘सतर्क रहनुपर्ने’ जिल्लाको सूचीमा राखेको छ । यस्तै कञ्चनपुर, कैलाली, नवलपरासी (पूर्व), चितवन, सुनसरी, मोरङ र झापालाई ‘अद्यावधिक जानकारी लिइरहनुपर्ने’ क्षेत्रमा समावेश गरिएको छ ।
विभागका अनुसार अत्यधिक गर्मी र तातो लहरका कारण थकान, कमजोरी, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा मांसपेशी दुख्ने समस्या देखिन सक्छ । बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरू विशेष जोखिममा रहने भएकाले थप सावधानी आवश्यक रहेको जनाइएको छ ।
महाशाखाले दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, प्रशस्त पानी तथा झोल पदार्थ सेवन गर्न, हल्का र सुतीका कपडा लगाउन तथा स्वास्थ्यमा समस्या देखिए तुरुन्त चिकित्सकको परामर्श लिन आग्रह गरेको छ। महाशाखाले गर्मीको अवस्था अझ केही दिन कायम रहने संकेत गरेको छ ।