नेपाली काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक अभियानमा हालसम्म करिब चार लाख सदस्य सहभागी भएका छन् । निर्धारित समयमा क्रियाशिल सदस्यता अध्यावधिक पुरा नभएपछि पार्टीले थप एक साता समय बढाएको छ ।
यसअघि जेठ २१ गतेसम्म कायम गरिएको समयसीमा अब जेठ २८ गते राति १२ बजेसम्म रहने नेपाली काँग्रेसले जनाएको छ । महामन्त्री तथा क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेल नेतृत्वको समितिले विभिन्न तहबाट समय अपुग भएको जानकारी प्राप्त भएपछि अवधि थप गर्ने निर्णय गरेको हो ।
समितिद्वारा जारी सूचनामा क्रियाशील सदस्यता अध्यावधिकको कार्य देशभर तीव्र गतिमा अगाडि बढिरहेको उल्लेख गरिएको छ । पार्टीका वडा, पालिका, प्रदेश तथा केन्द्रीय तहबाट सदस्यता नवीकरण र अध्यावधिकका लागि थप समय आवश्यक रहेको सुझाव आएपछि सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले अन्तिम पटकका लागि समय थप गरिएको हो ।
वैशाख १ गतेदेखि सुरु भएको अभियानअन्तर्गत बिहीबारसम्म करिब चार लाख सदस्यले आफ्नो क्रियाशील सदस्यता अध्यावधिक गरिसकेको समितिले जानकारी दिएको छ । काँग्रेसले बाँकी सदस्यलाई तोकिएको नयाँ समयसीमाभित्र सदस्यता अध्यावधिक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।
फोटो एआईको सहायतामा तयार गरिएको हो ।