बुटवल–१५, देवाहामा रहेको वेस्टर्न मेगा कलेजले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै ३० दिने निःशुल्क सीपमूलक हस्पिटालिटी तालिम सञ्चालन गरेको छ । विद्यार्थीलाई व्यावसायिक सीप विकासमार्फत आत्मनिर्भर र रोजगारमुखी बनाउने उद्देश्यले तालिम सुरु गरिएको कलेजले जनाएको छ ।
कलेजका अनुसार रुपन्देही जिल्लाका विभिन्न विद्यालयबाट करिब ५० जना विद्यार्थी तालिममा सहभागी भएका छन् । तालिममा बेकरी एण्ड किचन, बारिस्टा तथा एफ एण्ड बी (फुड एण्ड बेभरेज) सेवा र गेस्ट ह्यान्डलिङ एण्ड हाउसकिपिङ विषयलाई प्राथमिकतामा राखिएको छ । हस्पिटालिटी क्षेत्रका व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने गरी पाठ्यक्रम तयार गरिएको कलेजले जनाएको छ ।
कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले विद्यार्थीको फुर्सदको समयलाई उत्पादनशील बनाउँदै उनीहरूलाई रोजगार बजारका लागि सक्षम बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताए । उनका अनुसार तालिममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन । सहभागी विद्यार्थीलाई निःशुल्क दर्ता, निःशुल्क प्रशिक्षण तथा तालिम सम्पन्न भएपछि निःशुल्क प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

बीएचएम संयोजक सेफ विकास खत्रीका अनुसार तालिम दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ । तालिमका क्रममा सहभागीलाई अतिरिक्त सुविधाका रूपमा ‘फ्री स्विमिङ’ समेत उपलब्ध गराइएको छ ।
सन् २०१३ देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको वेस्टर्न मेगा कलेजले अन्तर्राष्ट्रिय सम्बन्धनमार्फत व्यावहारिक तथा सीपमूलक शिक्षालाई प्राथमिकता दिँदै आएको छ । कलेजले स्नातक तहमा चारवर्षे बीआईटी र बीएचएम तथा स्नातकोत्तर तहमा दुईवर्षे एमबीए कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । साथै शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना खुला गरिएको जानकारी पनि कलेजले दिएको छ ।