प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री शाहले सुधन गुरुङलाई गृहमन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीकाे जिम्मेवारी दिएका छन् ।
नवनियुक्त गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री पुनले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो ।
गृहमन्त्रीमा नियुक्त गुरुङ यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारीमा थिए । सम्पत्ति विवरण सम्बन्धी विवादपछि उनले पदबाट राजीनामा दिएका थिए । पछि सरकारले गठन गरेको छानबिन समितिले आरोप पुष्टि नभएको निष्कर्ष निकालेपछि उनी पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन् ।

त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त महावीर पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । फागुन २१ मा सम्पन्न निर्वाचनअघि उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा सहभागी भएका थिए । गुरुङ गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।